भिम भुसाल, देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकाका सबै वडामा क्वारेन्टाईन निमार्ण गरिने भएको छ । शुक्रवारको नगरकार्यपालिका बैठकले नगरभित्रका १७ वटै वडामा रहेका विद्यालयलाई प्रयोग गरि क्वारेन्टाईन निमार्ण गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण पुर्व तयारीका लागि नगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा कोरोना सचेतना समिति समेत गठन गरेको छ ।
नगरवासीहरुका लागी सचेतना जगाउने उदेश्यले नगरकार्यपालिकाको बैठकले निर्णय गर्दै कोरोना सचेतना अभियान समेत देवचुली नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।
कार्यपालिकाको निर्णयले भारत वा अन्य मुलुकबाट नगरभित्र आएका ब्यत्तिलाई वडाको क्वारेन्टाईनमा करिव १५ दिन सम्म राख्न समेत निर्देशन दिएको छ । क्वारेन्टाईनमा आवश्यकपर्ने स्वास्थ्यकर्मि नगरपालिकाले उपलब्ध गराउने र परिवारको रेखदेखमा संक्रमित ब्यक्तिलाई खाना, खाजा उपलब्ध गराउने गरि कार्यपालिकाले निर्णय गरेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । साथै विपत ब्यवस्थापन कोषबाट एक करोड रुपैया कोरोना संक्रमण न्युनिरणमा छुट्याईएको भुसालले जानकारी दिनुभयो ।
भुसालले भन्नुभयो, “नगरपालिकाले १ वडामा १ क्वारेन्टाईन निमार्ण अभियान अघि सारेको छ । प्रत्येक वडाको विद्यालयलाई क्वारेन्टाईनको रुपमा निमार्ण गर्ने निर्णय गरेका छौँ र सोहि अनुरुप विपत ब्यवस्थापन कोषबाट १ करोड रुपैया छुट्याईएको छ । आत्तिनुपर्ने अवस्था छैन तर सर्तकता भने अपनाउनुपर्छ ।”
देवचुली नगरपालिकाले कोरोना संक्रमण हुन नदिन अनिवार्य हात धुनुपर्ने अभियान, माईकिङ, पर्चा पम्प्लेट, जनचेतनामुलक सुचना प्रवाह गर्दै आएको छ ।