
भिम भुसाल, नवलपुर ।
सरकारले बुधबार सार्वजनिक गरेको १८ बुँदे निर्णयको ३ नम्बर बुँदामा भनिएको छ, ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने ।’
स्वास्थ्य मामिलाका जानकारहरुका अनुसार कोरानाको जोखिम शैक्षिक संस्थाहरुमा भन्दा मन्दिर, गुम्बा, चर्च र सिनेमा हलमा बढी हुने गरेको बाहिरी अनुभव छ । किनभने, विद्यालयमा एकखाले मानिसहरु आउँछन् तर मन्दिर, चर्च, गुम्बा धाम आदिमा अपरिचित मानिसहरुको आवत–जावत हुने भएकाले जोखिम बढी हुन्छ ।
जस्तो– दक्षिण कोरियामा त्यहाँको चर्चलाई कोरोनाको इपिसेन्टर नै मानिएको थियो भने पादरीले माफीसमेत माग्नुपरेको थियो ।
नेपालमा पनि सरकारले मठमन्दिर, गुम्बा र चर्चहरुमा सामुहिक भेला हुन रोक लागाउने निर्णय गरेको छ । तथापि मानिसहरुको धार्मिक आस्था प्रकट गर्ने ठाउँ भएकाले त्यहाँको भीड सहज हुनु चुनौतीपूर्ण देखिन्छ ।
नवलपुरको दुम्कौलीमा सांसद बिनोद चौधरीले निमार्ण गरेको शाश्वतधाममा दर्शन गर्न आइरहेका भारतीय तीर्थालुहरूले त्यहीँबाट कोरोना नभित्र्याउलान् भन्न सकिने अवस्था छैन ।
एकै दिनमा बिसौँ हजार मानिस प्रवेश गरेको रेकर्ड राखेको शाश्वतधाममा यतिवेला विभिन्न नाकामा रोक लगाईएकोले दैनिकी ५ सय भन्दा धेरै मानिस प्रवेश गरेको रेकर्ड शाश्वतधाम प्रशासनसँग छ । आन्तरिक तथा बाह्य पर्यटकको आक्रर्षण रहेको शाश्वतधाममा संक्रमण त्रासका बिच पनि मानिसहरुको आवतजावत कायम नै छ ।
शाश्वतधामका ए.जि.एम अशोक घर्तीका अनुशार प्रशासनले रोक्ने आदेश दिए अनुशार टिकट काट्ने, खाजा घर, संग्राहलय लगाएतको काम बन्द गरिएको जानकारी दिनुभयो । मन्दिर प्रवेश गर्दा शरिरको तापक्रम नाप्ने र दर्शनार्थिको लागी ‘स्यानिटाइजर’ राखिएको घर्तीले बताउनुभयो । १०० डिग्रि फरेनहाईड सम्म तापक्रम देखिएमा शास्वतधाम प्रवेश गराईएको छ भने त्यो भन्दा उच्च तापक्रम देखिएका ब्यत्तिलाई फिर्ता पठाउने गरेको घर्तीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले शाश्वतधाम बन्द गर्नको लागि निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । प्रहरी लगाएर नै टिकट काउन्टर हटाईएको थियो । धेरै मानिसहरुको प्रवेश नरोकिएमा तुरुन्तै शाश्वतधाम बन्द गराउने प्रमुख जिल्ला अधिकारी घिमिरेको दाबी छ । उद्योगधन्दा भने केन्द्रको निर्देशन अनुशार बन्दहुने हुँदा खाधान्न लगाएतका अत्यावश्यक उत्पादन रोक्न नसकिने भएकोले आवश्यक सर्तकता पुरा गरेर उधोग सञ्चालन गर्न निर्देशन गरेको घिमिरेले बताउनुभयो ।
