भिम भुसाल नवलपुर ।
सरकारले आजबाट शुरु गरेको एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न पूर्वी नवलपरासीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले लागु गरेको निषेधज्ञा कार्यान्वयन गर्न जिल्ला प्रसाशन कार्यालय नवलपुरले जिल्लाका ठूला बजार तथा चोकमा सुरक्षाकर्मि परिचालन गरेको हो ।
जिल्लाको कावासोती, डण्डा, चोरमारा, दुम्किवास, दलदले गैडाकोट लगाएतका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा, ट्राफिक प्रहरी परिचालन गरिएको छ । सडकमा मानिसहरु कम भन्दा कम गराउने उद्देश्यले प्रहरी कार्यालयले ठाउँ ठाउँमा प्रहरीको तैनाथीलाई बाक्लो बनाएको हो ।
बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेको नवलपुरका प्रहरी प्रमुख दिपक रेग्मीले बताए । लकडाउन अवज्ञा गर्नेलाई कानुन अनुशार कारवाही गरिने समेत रेग्मीले बताउनुभयो । प्रहरीले जिल्लाका विभिन्न स्थानमा माईकिङ गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेका छन् । जिल्लामा मेडिकल, ग्यास पसल, खाधान्न, एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन चल्न दिईएको छ । स्थानियहरु लकडाउनले सामान अभाव हुने डरले खाद्यान्न, ग्यास लगाएतका पसलमा विहानै देखि भिडभाड गरेका छन् ।