
वीरगञ्ज ।
सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)का बेला वीरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ११ चैत राति ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा वीरगञ्ज पुगेका उनीहरुलाई कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि क्वारेन्टाइनमा राख्न लागिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उनीहरुलाई कोरोना संक्रमण भए नभएको एकिन भएपछि मात्रै छोडिने बताए ।
कन्टेनर चालक कलैया–३ का शिवनारायण महरालाई भने कारबाही गरिने भएको छ । संक्रमण रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ अनुसार, कन्टेनर चालकलाई कारबाही हुनेछ । प्रहरीका अनुसार, कन्टेनरमा चालक र एक जना भारतीय नागरिक सहित ५३ जना आएका थिए ।
भारतीय बाहेक सबै बारा पर्सा, रौतहटका नागरिक हुन् । कामको शिलशिलामा चितवन लगायत जिल्ला पुगेका उनीहरु बन्दाबन्दीको समयमा कन्टेनरमा घर फर्किएका हुन् ।