
भिम भुसाल, देवचुली ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको अर्थ सर्वसाधारणले बुझ्न नसकेको पाइएको छ ।

लकडाउनको अर्थ नबुझ्दा सर्बसधारण सडक र पसलमा खुल्लेआम घुमफिर गर्दै आएका छन् । लकडाउनको बारेमा सर्बसाधारणले जानाजान लापरवाही गर्दा सरकारको निर्णयविरुद्ध सडक र बजारमा खुल्लेआमा घुमफिर गर्ने गरेको पाइएको छ ।
सरकारले १८ चैतसम्म लकडाउन घोषणा गरेको छ । तर नवलपुरको अधिकांश क्षेत्रका सर्वसाधारण खुल्ला घुम्ने, हिडडुल गर्ने, जमघट गर्ने र गफगाफ गर्ने गरेको भेटिएको छ । दिउसोको समयमा राजमार्ग क्षेत्रमा सुनसान देखिए पनि विहान र साँझको समयमा मानिसहरु सडकमा निस्कने, साथिभाई भेटघाट गर्ने, वालवालिका तथा युवाहरु चउरमा खेल्न जाने जस्ता प्रवृद्धि देखिएको छ ।
नवलपुरको देवचुली, कावासोती, गैडाकोट, मध्यविन्दु क्षेत्रका सर्वसाधारण प्रहरी आउँदा सडकमा जम्मा भएका भाग्ने तर प्रहरी गएपछि पुनः जम्मा हुने गरेकोले स्थानीय स्तरमा जोखिम समेत बढेको हो । लकडाउनको दोस्रो दिन अधिकांश स्थानमा सुनसान देखिएपनि तेस्रो दिन भने चहलपहल बढ्न थालेको छ । भित्रि गाउहरुमा मानिसहरु पसल खोल्ने, गाउभरिका जम्माहुने र दिन भरी गफगाफमा रमाउने गरेका छन् ।
कतिपयले निरन्तर रुपमा प्रहरीको निगरानी बढाएर लकडाउनको उल्घंन गर्नेलाई कानुनी कारबाहीका लागि नियन्त्रणमा लिनुपर्ने भन्दै सामाजिक संजालमा चर्को विरोध गरिरहेका छन् ।