काठमाडौं ।
कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ विमानबाट नेपाल आएकी बाग्लुङकी किशोरीमा पनि कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या ५ पुगेको छ । एकजना उपचारपछि घर फर्किइसकेको छन् । दुईजनाको टेकु अस्पतालमा, एकजनाको धनगढीमा उपचार भइरहेको छ । शनिबार सङ्क्रमित पुष्टि भएकी किशोरी अहिलेसम्म घरमै छन् ।
गत ४ गते कतार एयरवेजबाट आएकी किशोरीमा सोमबार कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौंकी ती किशोरीको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
उनी आएको विमानका सम्पूर्ण यात्रुको नाम सार्वजनिक भएपछि बाग्लुङ नगरपालिका चनाखो बनेको थियो । “दोस्रो सङ्क्रमित किशोरीसँगै यात्रा गर्नेमध्ये बाग्लुङका चारजना रहेछन् । ती सबैको हामीले खोजी गरेका थियौं । शुक्रबार सङ्क्रमित पुष्टि भएकी किशोरीलाईचाहिँ केही दिन पहिले ज्वरो देखिएको रहेछ,” बाग्लुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्काले भने ।
बेल्जियम हुँदै कतारको दोहाबाट काठमाडौं अवतरण गरेकी ती किशोरी नाताले हजुरआमा पर्नेसँग आएको र बाग्लुङमा हजुरआमासँगै बसेको खड्का बताउँछन् । काठमाडौंबाट उनीहरू सार्वजनिक माइक्रो बसमै गएका थिए ।
“उनी अहिले पनि हजुर बाआमासँग बस्दै आएकी छिन् । ज्वरो आएपछि धवलागिरि अञ्चल अस्पतालमा जँचाउन गएकी रहिछन् । विदेशबाट आएको भनेर जानकारी पनि दिइनछन् । हामीले सङ्क्रमित किशोरीसँगै आएको भनेपछि घरमै चिकित्सक लगेर स्वाब सङ्कलन गरेर पठाएका थियौं । आज पुष्टि पनि भयो,” उनले भने । किशोरीलाई सङ्क्रमणको पुष्टि भएपछि हजुरबा र आमालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भएको उपमेयर खड्काले भने ।
किशोरी कुन माइक्रो चढेर काठमाडौंबाट आएकी थिइन्, गाउँमा कसकसको सम्पर्कमा पुगिन् भनेर खोजी भइरहेको खड्काको भनाइ छ । “काठमाडौंबाट उनी चढेर आएको माइक्रोबारे बुझ्दैछौं । उनीसँग कोको आएका थिए भन्ने अहिले हाम्रो खोजीको विषय बनेको छ । गाउँमा अरूको सम्पर्कमा पुगिन् कि पुगिनन् बुझ्दै छौं,” खड्काले भने ।
संङ्क्रमित किशोरीलाई काठमाडौं पठाउने कि धवलागिरि अञ्चल अस्पतालमै राख्ने सल्लाह भइरहेको उपमेयर खड्काले बताए ।