
भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिकाले विभिन्न तिन शर्षकको आधारमा राहत वितरण गर्ने भएको छ । मुलुक लकडाउनको अवस्थामा रहेको समयमा गरिव तथा विपन्न परिवारको निम्ति वितरण गर्न लागीएको राहत देवचुलीका स्थानियले तिन शिर्षकको आधारमा प्राप्त गर्ने विपद ब्यवस्थापन समितिले निर्णय गरेको हो ।
मासिक पारिश्रमिक पाउने परिवार, बैङ्कमा पाँचहजार रुपैया भन्दा बढि रकम भएको परिवार र घरमा भकारी (खाद्यान्न) भएको परिवारले राहत नपाउने देवचुली नगरपालिकामा बसेकोे विपद ब्यवस्थापन समितिले निर्णय गरेको छ ।
आज सोमवार देवचुली नगरपालिकाले राहत वितरण, खर्च अनुमोदन र राहत वितरण मापदण्ड सम्बन्धमा निर्णय गरेको हो । सरकारबाट लगाईएको लकडाउनबाट दैनिक ज्याला मजदुरी गरि जिवन निर्वाह गर्दै आएका नागरिकहरुका लागी देवचुली नगरपालिकाले वडा नम्बर २ स्थित सद्भाव टे«डर्सलाई तौलिहवा कपिलबस्तुको वैद्यनाथ टे«डर्सबाट देवचुली नगरपालिकासम्म चामल ढुवानी गर्न जिम्मा दिने समेत निर्णय गरेको छ ।
त्यस्तै कोरोना रोकथामको उपायहरु अवलम्बन गर्ने क्रममा देवचुली नगरपालिकाले चिकित्सक, स्वास्थ्यकर्मि, जनप्रतिनिधी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगाएतका सरोकारवालाहरुका लागि सुरक्षाका उपकरणहरु खरिदा गर्दा करिव ४ लाख ३२ हजार ९ सय ५० रुपैया खर्च भएको समेत विवरण नगरपालिकाले प्रस्तुत गरेको छ । त्यसैगरि नगरभित्र राहतको खाद्यान्न जम्मा गरि आह्वान गर्ने र अति विपन्न, दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने ब्यक्ति परिवारलाई पारदर्शी र निश्पक्ष रुपमा वितरण गर्ने समितिले निर्णय गरेको छ ।
देवचुली नगरपालिका तथा विपद ब्यवस्थापन समिति प्रमुख पुर्णकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, नगरप्रवक्ता क्याप्टेन डिलबहादुर खत्री, विभिन्न वडाका वडा अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, संघिय समाजवादी पार्टी, उद्योग वाणिज्य संघ देवचुली, देवचुली नगरपालिका विभिन्न शाखा प्रमुख, कर्मचारी, प्रहरी लगाएतको सहभागिता रहेको थियो ।
