नारायण शर्मा,नवलपरासी ।
दल्दले दुग्ध विकास सहकारी संस्थाले किसानबाट किनेको दूध मंगलबार पोखेको छ । दूध लिन काठमाडौंका ठूला डेरी उद्योग नआएपछि पोख्नुपरेको संस्थाले जनाएको छ । अरू बेला उक्त सहकारीबाट काठमाडौंको हिमालयन डेरी, दुग्ध विकास संस्थान र पोखराको फिस्टेल डेरीले दूध किनेर लाने गरेका थिए । लकडाउनपछि दूध बिक्री नभएको भन्दै ती कुनै पनि दूध लिन आएका छैनन् ।
संस्थाका उपाध्यक्ष विष्णु पौडेलले किसानसँग खरिद भइसकेको जानकारी गराउँदा समेत कोही लिन नआएको बताए । ‘गाउँमा खपत छैन,’ उनले भने । यहाँका सहकारीबाट डेरीले प्रतिलिटर ६० रुपैयाँमा दूध किनेर लैजान्छन् ।
ठिमुरामा रहेको चितवन धुलो दूध कारखानाले खरिद गर्ने व्यवस्था मिलाउन सके दूध सडकमा फाल्नु नपर्ने किसानहरूको भनाइ छ । दूध आपूर्तिको कमी र भारतबाट आयात हुने सस्तो पाउडर दूधसँग प्रतिस्पर्धा गर्न नसक्दा सञ्चालकले धुलो दूध कारखाना बन्द गरेका छन् ।