काठमाण्डौं ।
कोरोनाभाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ अर्थात् बन्दाबन्दी पूर्ण पालना गर्न सहयोग गर्न गृह मन्त्रालयले जनप्रतिनिधि तथा नागरिक समाजको समेत सहयोगको खाँचो रहेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रहरी प्रशासनको एकल प्रयासले लकडाउन उल्लङ्घनको नियन्त्रण सम्भव नहुने भएकोले नागरिक समाज तथा जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताए।
उनले भने, लकडाउनको पूर्ण पालना गराई कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्नु हामी सबैको दायित्व हो। प्रहरी प्रधान कार्यालयका अनुसार बन्दाबन्दी सुरु भएपछि देशैभर गरेर हालसम्म झण्डै १८ हजारभन्दा बढी मानिस तथा १५ हजारभन्दा बढी सवारीसाधन प्रहरी कार्वाहीमा परेका छन्। शहरी भेगमा तथा एकाबिहानै र रातिको समयमा लकडाउन उल्लङ्घन बढी हुने गरेको प्रहरीको भनाइ छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले अत्यावश्यक कारण भन्दापनि आत्मानुशासन नभएको वा हेलचक्र्याइँ गरेर बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या धेरै भएको बताए। कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक मुलुकभर हिँडडुलमा प्रतिबन्ध लगाइएपनि त्यसको पूर्ण पालना हुन नसक्दा सङ्क्रमणको थप जोखिम बढ्ने चिन्ता सामाजिक सञ्जालमा पनि व्यक्त भएका छन्।
सुरुवातका दुईतीन दिन लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गरिएकोमा अहिले जहाँ उल्लङ्घन गरेको भेटियो त्यहीँ नियन्त्रणमा लिएर केही घण्टा राख्ने गरिएको छ। नियन्त्रणपछि प्रहरीले आगामी दिनमा लकडाउन उल्लङ्घन नगर्ने सर्तमा कोरोनाभाइरस सङ्क्रमणबारेमा प्रशिक्षण दिएर छाड्दै आएको बताएको छ। बिबिसी