बागलुङ ।
बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो।
तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थाल्यो। धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर उनले नेपाल फर्किने सोच बनाइन् र तत्कालै नेपाल फर्किइन् पनि।
कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आइन् तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको उनलाई पत्तो भएन। गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आयो अर्थात् आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको समाचार आयो।
सुरुमा पत्यार लागेन, तर नपत्याउने आधार पनि बाँकी रहेन।
कसरी सर्यो सङ्क्रमणरु
झण्डै २०-२२ वर्षदेखि दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुँदै कतार एअरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन्।
उनीसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि ती ६५ वर्षीया महिलाको पनि स्वाब परीक्षण गरिएको थियो। त्यसबेलासम्म उनमा सङ्क्रमणको कुनै लक्षण समेत थिएन।
तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि अर्की किशोरीसहित उनी यही चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
सङ्क्रमणको डर
चैत ४ गते काठमाण्डू उत्रिएपछि उनलाई ज्वाईँ लिन एअरपोर्टमा पुगेका थिए। काठमाण्डूबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म उनीहरू आइपुगेका थिए। आएको दिन उनी छोरीको घरमा बसिन्। अर्को दिन घरमा पुगिन्। घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए। उनीहरूलाई चकलेट पनि बाँडेको बताईन्।
अस्पतालमा उपचाररत उनलाई रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन। त्यसैले उनलाई सङ्क्रमण भएको अनुभव नै नभएको बताउँछिन्। उनी भन्छिन्, मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन।
पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भए जस्तो भएको उनको अनुभव छ। अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन,उनी भन्छिन्। मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन। आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ,उनले थपिन्। बीबीसी न्यूज