भिम भुसाल, नवलपुर ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योग ग्रामको मूख्यद्धारमा आज (आईतबार) दिनभर जनप्रतिनिधी सहित स्थानिय तथा कामदार उद्योग सञ्चालनको बिरोधमा उत्रिएका छन् । सरकारले लकडाउन घोषणा गरेको अति संवेदनशिल समयमा चौधरी उद्योग ग्रामले तेस्रो पटक सुचना टाँस गर्दै उद्योग चलाउने जानकारी गराएपछी जनप्रतिनिधी सहितका स्थानिय तथा कामदार बिरोधमा उत्रिएका हुन् ।
चैत्र १८ र २० गते स्थानियले बिरोध गर्दै उद्योग सञ्चालन गर्न नदिएपछी आज चैत्र २३ गते तेस्रो पटक सुचना जारी गर्दै चौधरी उद्योगले भोलीदेखीे काममा फर्किन कामदारलाई सुचित गरेको थियो । कोरोना संक्रमण फैलिरहेको भयावह अवस्थामा बिश्वकै धनाढ्य एंव सांसद समेत रहेका उधोगपती बिनोद चौधरीले कामदारको मृत्युको प्रवाह नगरी पैसा कमाउने ध्यानमा लागि परेको भन्दै स्थानियले चर्को बिरोध गरेका छन् ।
उद्योगले फुजी प्लाण्ट, वाई एम प्लाण्ट, सिजनिङ प्लाण्ट र हटरुम प्लाण्ट सञ्चालन गर्ने भन्दै श्रमिक तथा कामदार कर्मचारीलाई काममा फर्किन अनुरोध गरेको छ । चौधरी उद्योगको फुजी र वाईएम प्लाण्टमा मात्रै १३ सय ८० कामदार रहेको र उद्योगभरी २२ सय भन्दा धेरै कामदार कार्यरत रहेका छन् ।
चौधरी उद्योगले सम्पूर्र्ण कामदार तथा कर्मचारीहरुलाई उद्योगभित्रै बस्ने खाने ब्यवस्था मिलाउने जानकारी गराउदै काममा फर्किन अनुरोध गरेतापनी स्थानिय तथा कामदारले भने बाहिरबाट आउने सवारी साधनबाट कोरोना संक्रमण हुन सक्ने, उद्योगले सम्पूर्ण कामदारलाई उद्योगभित्रै बस्ने खाने ब्यवस्था गर्न नसक्ने, संक्रमणबाट कामदारलाई सुरक्षित राख्न नसक्ने भन्दै उद्योग चल्न नदिने चेतावनी दिएका छन् ।
दिनभर उद्योगको मूख्यद्धारमा स्थानिय ब्यक्तिहरुको नाराबाजी सहितको बिरोध भएपछी जिल्ला प्रहरी कार्यालय नवलपुरबाट डिएसपी मोहन खाणको नेतृत्वमा सुरक्षा टोली चौधरी उद्योग पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको सवारीमा एक ट्रक सुरक्षा कर्मि, ईलाका प्रहरी कार्यालयका प्रहरी, औधोगिक सशस्त्र सुरक्षा बल लगाएतका सुरक्षाकर्मी भिड नियन्त्रण गर्न परिचालन भएका थिए । स्थानियले उद्योग कुनैपनि अवस्थामा चल्न नदिने भन्दै आक्रोशित भएपछी अर्को सुचना टाँस गर्दै भोली देवचुली नगरपालिकामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी, स्थानिय सरकारबिच छलफल हुने र उद्योग सञ्चालन हुने वा नहुने भन्ने विषयमा जानकारी गराईने जनाएको छ ।
सरकारले घरबाहिर ननिस्कन नागरिकलाई अनुरोध गरेको समयमा सांसद समेत रहेका धनाढ्य बिनोद चौधरीले सयौं कामदारलाई काममा बोलाउदा स्थानियले बाध्य भएर पटक पटक बिरोध गर्नुपरेको बताएका छन् ।
नेपाल सरकारले अतिआवश्यक खाधान्न उद्योग मात्रै सञ्चालन गर्न लगाउदा चौधरी उद्योगले बिलासिताको चाउचाउ उत्पादन गर्न उद्योग सञ्चालन गरि सयौ श्रमिकको जिवनसँग खेलवाड गरेको स्थानिय सरकार प्रतिनिधीहरुको दाबी छ ।
चौधरी उद्योगका प्रमुख धनाढ्य बिनोद चौधरी कोरोना संक्रमणको डरले परिवार सहित करिब १७ दिन अधिदेखि दुम्कौलीको चौधरी उद्योग ग्राम क्षेत्र भित्र बस्दै आएका छन् ।