नवलपरासी ।
नवलपरासी (पश्चिम) को सुस्ता गाउँपालिका-३ रेवारेताबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर-३ का ३७ वर्षीय रंगलाल गुप्ता रहेका छन्।
उनको साथबाट प्रहरीले इस्पास्मो ५ सय ७६ क्याप्सुल, नाइट्रोभेट १ सय ४६ पिस, फेनारगन ९ एम्पुल, आइपिपिएल ९ एम्पुल, ओनेरेक्स १ सय एमएलको ८ सिसी तथा नगद २ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बरामद गरेको छ।
प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले एपी ५७ आर ८२७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक गुप्तालाई उक्त परिमाणको लागुऔषध तथा नगदसहित पक्राउ गरेको हो।
यसैगरी, उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कोल्टेबाट लागुऔषध गाँजा १ केजी ६ सय ग्रामसहित सोही ठाउँ बस्ने ६८ वर्षीय नारायणप्रसाद हुमागाई र सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने १९ वर्षीय राधेश्याम भन्ने किशोर लभरिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट स १० प ९०१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।