नवलपुर ।
नवलपुरमा र्यापिड टेष्ट (आरडीटी) किट आईपुगेको छ । गण्डकी प्रदेश राजधानी पोखराबाट पठाईएका सामग्री सहित एक टोली नवलपुरस्थित देबचुलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली आईपुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
वहाँका अनुसार ४ सय ९२ थान र्यापिड टेष्ट (आरडीटी) १६ थान एन् ९५ मास्क र क्लोरिन पाउडर नवलपुरका लागी आएको बताउनुभयो । नवलपुरमा भ्याक्सिनहरु राख्नका लागी दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ब्यवस्थित भण्डारणको ब्यवस्था भएकाले अहिले सामग्री रुजु भइसकेको नवलपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिनुभएको होे ।
प्राप्त स्वास्थ्य सामाग्री भोली शनिवार भएपनि जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखामा पठाउने तयारीमा रहेको समेत वहाँले बताउनुभएको छ । प्रमुख चापागाईका अनुसार आरडीटीले सामान्यतया रगत परिक्षण गर्दा पोजेटिभ र नेगेटिभ मध्ये एक साईन देखाउँछ । नेगेटिभ आए संक्रमण नभएको नै भैहाल्यो । पोजेटिभ आएमा त्यसपछि बल्ल बिरामीको स्वाव परिक्षणका लागी अर्को प्रक्रियामा लाग्न छिटो निर्णयमा पुर्याउने बिधि रहेको प्रष्ट्याउनुभयो ।
वहाँले यसबाट १५ मिनेटमै परिक्षणको नतिजा प्राप्त गर्न सकिने बताउनुभयो । वहाँले आरडीटीमा पोजेटिभ आईहाले पनि कोरोना नै हो भनेर पुष्टि गर्न भने स्वावको परीक्षण रिपोर्ट चाहिने बताउनुभयो ।
नेपाल सरकारले सातै प्रदेशमा कोरोनाको द्रुत परीक्षण गर्ने निर्णय गर्दै गण्डकी प्रदेशलाई बुधवार ५ हजार थान र्यापिड टेष्ट किट र अन्य स्वास्थ्य सामाग्री पठाएको थियो । गण्डकीले हिजो बिहीबार बाग्लुङमा सो किटको प्रयोग सम्वन्धि प्रशिक्षण र परिक्षण दुबै गरेको हो ।
आज शुक्रवार गोरखा, लमजुङ र नवलपुर जिल्लाका लागी र्यापिड टेष्ट किट र स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीको टोली हिडेका थिए ।