
चितवन, ४ वैशाख ।
चितवन र नवलपरासी आवतजावत गर्नेहरुले स्वचालित स्यानीटाइजर मेसिनमा अनिवार्य बस्नुपर्ने भएको छ । नारायणी पुलको नारायणगढतर्फको पुलचोकमा स्वचालित सो मेसिन उपकरण जडान गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । चितवनतर्फ आउने र नवलपरासीतर्फ जाने जो कोहीले पुलचोकमा रहेको वाक थ्रू स्वचालित स्यानिटाइजिङ च्याम्बरमा अनिवार्य रुपमा छिर्नुपर्नेछ । नेपाली युवा उद्योगी मञ्च चितवनले सो च्याम्बर सञ्चालनमा ल्याएको हो ।

कोभिड–१९ को सङ्क्रमण बाहिरबाट आएकाका कारण जिल्लामा नहोस् भन्ने उद्देश्यले यो च्याम्बर सञ्चालन गरिएको हो । च्याम्बरको आज चितवनका प्रजिअ नारायणप्रसाद भट्टराईले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रजिअ भट्टराईले यसले कोरोना रोकथाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला प्रवेश गर्ने र बाहिरिने दुवैलाई यसको उपयोगिताका बारेमा जानकारी गराई प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
जिल्लामा कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि स्थानीय प्रशासनले लकडाउनलाई प्र्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको भट्टराईले बताउनुभयो । पैदल आएका वा सवारीमा आएकालाई सो च्याम्बरमा राखेर १० सेकेन्ड घुमेपछि शरीर पूरै स्यानिटाइजिङ गरिनेछ । मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार रु एक लाख ५० हजारको लागतमा निर्माण गरिएको सो च्याम्बरमा उच्चस्तरीय कीटनाशक रसायन प्रयोग गरिएको छ । त्यसले मानिसलाई पाँच घण्टासम्म सुरक्षित राख्ने उहाँले जानकारी दिनुभयो ।
युवा उद्यमी राजेश गौतमले एकपटकमा चारजनासम्मको स्यानिटाइजिङ गर्न सकिने बताउनुभयो । मञ्चले चैत २३ गतेदेखि लकडाउनको समयमा पैदल आएका यात्रीहरुलाई पुलचोकमा नै खाना खुवाउँदै आएको छ ।