
कोरोना भाइरस महामारीका कारण इतिहासमै पहिलोपटक अमेरिकी तेलको मूल्य शून्यभन्दा पनि तल ऋणात्मक हुने गरी घटेको छ। यसको अर्थ तेल उत्पादक कम्पनीले आफ्नो उत्पादन लिइदिन अनुरोध गर्दै क्रेतालाई उल्टै पैसा दिइरहेको बीबीसीले जनाएको छ।
विश्वव्यापी लकडाउनका कारण मानिस घरभित्रै सीमित भएपछि तेलको माग ह्वात्तै घटेकाले तेल उत्पादक कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्न अहिले धमाधम ट्याङ्कर भाडामा लिन थालेका छन्। जसका कारण अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव परेको हो। तेल उत्पादकले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले तेल लिन खरिदकर्ताहरूलाई उल्टै रकम दिइरहेका हुन्।

बीबीसीका अनुसार अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अर्थात् –३७.६३ अमेरिकी डलरमा झरेको छ। सोमबार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको बीबीसीले जनाएको छ।