
परासी ।
आरडिटी परीक्षणमा एन्टिबडि पोजेटिभ देखिएका पश्चिम नवलपरासीका वृद्धको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ का ७८ वर्षीय वृद्धको मंगलबार गरिएको र्यापिड टेस्टमा एन्टिबडी पोजेटिभ देखिएको थियो। बिरामीको स्वावमार्फत भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र कुमार गिरीले जानकारी दिए।

उनको स्वाब बर्दघाटस्थित चिसापानी अस्पतालमा परीक्षण गरिएको थियो। छातिमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए। परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएपछि उनका सबै परिवारलाई तत्कालै र्यापिड टेस्ट गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभि आएको छ। प्रदेश-५ का १२ वटै जिल्लामा आरडिटी माध्यमबाट परीक्षण भइरहेको छ। प्रदेश-५ भरि अहिलेसम्म २ हजार ५ सय ९६ जनाको परीक्षण भएको छ। यसमध्ये आरडिटी परीक्षणमा बर्दघाटका वृद्धको मात्रै पोजेटिभ देखिएको थियो।-नेपालन्युज