भिम भुसाल, देवचुली ।
गत डिसेम्बर ३० मा अर्थात पुस १४ मा चीनको उहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरस यतिखेर संसारभर फैलिसकेको छ। यो भाइरसले विश्व महामारीको आकार ग्रहण गरेपछि मानिसको जीवन जोखिममा परिरहेको छ। संक्रमणबाट बच्न विश्वका अधिकाश मानिसहरू अहिले घरभित्रै बसी लकडाउनको पालना गरिरहेका छन्। संक्रमणको जोखिम गहिरिँदै गएपछि पछिल्लो तीन महिनायता सबै क्षेत्रको नेतृत्व स्वास्थ्य क्षेत्रले लिइरहेको छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरू कोरोना विरुद्धको लडाइँमा अग्रमोर्चामा छन्।
बिश्वसँगै नेपालमा समेत कोरोना भाईरसको संक्रमण फैलिदै छ । यो समयमा आफैंलाई जोखिममा राखी उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीजस्ता यस युद्धको अग्रपङ्क्तिका योद्धाहरूको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन नहुने दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर बिद्या भुसालले बताउनुभयो । डाक्टर भुसालले भन्नुभयो, “स्वास्थ्यकर्मी जोखिमसँग डराउदैनौँ । त्यसैले नागरिकको सेवामा निरन्तर सकृय छौँ, हाम्रो सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ र प्रर्याप्त सुरक्षाका सामाग्री उपलब्ध गराउनुपर्छ ।”
पछिल्लो समयको अवस्था चित्रण गर्दा कोरोना भाईरसको लक्षण कति दिन भित्र देखिन्छ भन्ने यकिन गर्न नसक्ने हुदा स्वास्थ्यकर्मीलाई आईस्युलेट गर्नुपर्ने र स्वास्थ्यकर्मीलाई सुरक्षाका सामाग्री स्थानिय सरकारले प्रर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत डाक्टर आशिषबाबु अर्यालले बताउनुभयो । डाक्टर आशिषले भन्नुभयो, “ स्वास्थ्यकर्मी सुरक्षित छैनौँ । म आफू हारेर पनि नागरिकको स्वास्थ्य सुरक्षामा निरन्तर खटिरहेको छु ।”
देवचुली नगरपालिकामा बिरामिसँग प्रत्यक्ष सम्र्पकमा रहने ५८ जना स्वास्थ्यकर्मि रहेका छन् । जसमध्ये दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै ३० जना स्वास्थ्यकर्मी रहेका छन् र समाचार तयार पार्दा सम्म जम्मा १३ थान पिपिई र ७ थान एन ९५ माक्सको भरमा सेवामा खटिरहेको डाक्टर आशिषले बताउनुभयो ।
हालसम्म देवचुली नगरपालिकाले नगरभित्रका सम्पुर्ण स्वास्थ्य संस्थका स्वास्थ्यकर्मीलाई ४८ थान पिपिई र ९० थान एन ९५ माक्स बितरण गरिसकेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले बताउनुभयो । “स्वास्थ्यकर्मिलाई प्रयाप्त सुरक्षा समाग्री छैन तर पनि हामी स्वास्थ्यकर्मिकोलागि स्वास्थ्य सामाग्री जुटाउने कार्यमा सकृय भैरहेका छौँ ।” स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।