
हरि शर्मा,पश्चिम नवलपरासी।
पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र अन्य लागूऔषधसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवा नाकाबाट उक्त सामाग्री बरामद गरेको हो । लागूऔषधसँगै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकान्त उपाध्यायलाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं। २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए ।

बरामद भएका लागूऔषधमा ७.१५ ग्राम ब्राउन सुगर छ । त्यस्तै विभिन्न नामका ८ सय १४ पिस लागूऔषध छन् । इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस रहेको शसस्त्र प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए सीमावर्ती भारतीय बजारबाट उनले लागूऔषध ल्याउँदै थिए । लकडाउनको समयमा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचाल गरेपनि एकान्त स्थानबाट उनले भारतीय स्कुटीमा राखेर लागूऔषध ल्याउने प्रयास गरेको खनियाले बताए । भारतमा रहेको ससुरालीबाट फकर्दै गरेका उनीसँग श्रीमती र ३ वर्षे छोरा समेत रहेका थिए ।‘दसगजा नजिकबाट मोटरसाईकल डो¥याएर आउँदै गरेको देखियो । प्रहरीलाई देखेपछि उनले मोटरसाईकल झाडीमा लगेर लुकाए ।
खानतलासी गर्दा उक्त लागूऔषध स्कुटीमा लुकाएर राखेका रहेछन् । ’ खनियाले भने । उनी दसगजा पार गरिसकेपछि मात्र श्रीमती र छोराहरु पछिपछि हिड्दै आएका थिए । परिवारसँग जाँदा चेकजाँच कम हुने सोँच बनाएर उनले लागूऔषध ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । भारतीय नम्बर प्लेटको स्कुटीको चक्का माथिका खाली भागहरु र नट कस्ने स्थानमा लागूऔषध लुकाएर राखेका थिए । पक्राउ परेका उपाध्याय र बरामद भएका लागूऔषध आवश्यक अनुसन्धानका लागि सीमा प्रहरी चौकी महेशपुरमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । अनुसन्धानमा सहयोग पुग्ने भएकाले उपाध्यायकी श्रीमती र छोरालाई पनि प्रहरीको जिम्मा लगाइएको छ ।
लकडाउनका कारण नेपाल भारत ओहोरदोहोर गर्ने व्यक्तिलाई जहाँबाट आएको हो त्यतै फर्काउने भएपनि लागूऔषध भएका कारण शसस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रहरीका जिम्मा लगाएको हो ।-सत्यकलम डट कम