
नवलपुर ।
नेपालमै सर्वाधिक विक्रि हुने चाउचाउ उत्पादन गर्ने नवलपरासीको एउटा कारखाना बन्द हुँदा ३४ दिनमा ६३ करोड भन्दा बढि सरकारी राजश्व गुमेको छ ।

दुम्कौलीस्थित चौधरी ग्रुप इन्डष्ट्रियल पार्कमा रहेको वाइवाइ चाउचाउ कारखानाले दैनिक ५४ हजार कार्टुन अर्थात १६ लाख २० हजार पोका चाउचाउ उत्पादन गर्दै आएको थियो । त्यस वापत उसले माशिक ५६ करोड राजश्व बुझाउँथ्यो । भन्सारमा आयातहुने कच्चा पदार्थमा भुक्तानी समेत जोडदा राजश्व रकम त्यो भन्दा बढि हुन्छ ।
चाउचाउ उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ भारतवाट आउने गरेको छ । त्यस वापतको राजश्व भन्सारमा तिरिन्छ । लक डाउनका कारण बिगत ३४ दिनदेखि कारखाना बन्द हुदा ६३ करोड राजश्व गुमेको छ । खाद्य सामाग्री उत्पादन गरेर एउटै कारखानाले एकै ठाउवाट सबै भन्दा बढि राजश्व तिर्ने यो नेपालकै ठुलो कारखाना हो ।
चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले दैनिक झण्डै २ करोड राजश्व बुझाउने र दैनिक २ हजारलाई रोजगारी दिदै आएको कारखाना संचालन हुन नसक्दा सरकारी कोषमा राजश्व घाटा भएको र मजदुरहरुको बिहान बेलुकाको रोजिरोटीको समस्या समेत शुरु भएको बताउनुभयो । कारखानाले त्यहाँ कार्यरत २ हजार मजदुरहरुलाई मासिक ४ करोड भन्दा बढि तलब बापत भुक्तानी दिदै आएको छ ।
२ हजार मजदुरहरु मध्ये कारखाना वरिपरिकै स्थानीय १ हजार ८ सय बढी छन् । डेरा भाडामा बसेर काराखानामा काम गर्दै आएका ४ सय भन्दा बढी मजदुरको साँझ बिहान हातमुख जोर्ने समस्याले बिचल्ली भएको छ । दुम्कौलीमा रहेको चौधरी ग्रुप इन्डष्ट्रियल पार्कले चाउचाउ, भुजिया, लेज, लगायतका खाद्य सामाग्री उत्पादन गर्दै आएको छ ।
उद्योग तथा वाणिन्य मन्त्रालयले अत्यावश्यकीय सेवाका कारखाना सञ्चालन गर्नु भन्ने परिपत्र गरेपनि त्रासका कारण कारखाना संचालन हुन नसकेको सिटौलाले जानकारी दिनुभयो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले खाद्यान्न सामाग्री उत्पादन गर्ने कारखाना तत्लकाल संचालन गर्ने वातावरणकालागि आफुले काम गरिरहेको र कसैले विभिन्न बहानामा अवरोध गरे कारबाहि गर्ने बताउनुभयो ।
कारखाना भित्र रहेका ५ वटा प्लान्ट मध्ये २ फरक फरक भवनमा रहेका २ वटा प्लान्ट थोरै मजदुर राखेर आवश्यक सावधानी अपनाई संचालन गर्ने प्रयास भैरहेको सिटौलाले जानकारी दिनुभयो ।