काठमाडौं ।
दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सुरक्षा फौज पठाइने भएको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सुरक्षा फौज पठाउन लागिएको हो।
सुरक्षा फौज पठाउनका लागि नेपाली सेनासँग हेलिकोप्टर मागिएको गृह स्रातले जनाएको छ। सेनाको हेलिकोप्टरमा बुधबार सुरक्षा फौज पठाउने तयारी भएको छ।
कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालयले आफ्नो जनशक्ति खटाउने तयारी गरेको हो। विकट कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो।
‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो। तर अहिले सीमा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो। यसको गृहकार्य भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो।