खगेन्द्र पराजुली, नवलपुर ।
नवलपुरको देबचुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पछिल्ला दिनहरु संत्रास, हल्ला–अफवाह, अनुमान–अड्कलले आतंकित भएको परिस्थितिबीच आज बिहानै शुभ खवर प्राप्त भएको छ । संक्रमण फैलिएका केही जिल्ला र भारतको मुम्वईबाट समेत आएका अत्यन्त संभाबितको हिजो भएको पिसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भरतपुर कोरोना परीक्षण प्रयोगशालामा हिजो राती भएको परीक्षणमा नवलपुरबाट संकलन गरी पठाईएका २० जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सुचना अधिकृत लिलाधर पौडेलले जानकारी दिनुभएको हो ।
यस्तै, आज शनिवार बिहान ७ बजे १५ जनाको स्वाव संकलन गर्नका लागी जिल्ला स्वास्थ्य कार्यालयबाट २ जना, मध्यबिन्दु जिल्ला अस्पतालबाट १ जना सहितको स्वास्थ्यकर्मीको टोली नवलपुरको पहाडी गाउँपालिका बौदीकाली प्रस्थान गर्ने तयारीमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
३१ गते भारत तथा नेपालका बिभिन्न ठाउँबाट आएका २१ जनामध्ये १५ जना बौदीकालीका रहेकाले उनीहरुको स्वाव संकलन गर्न जान लागेको बताउँदै त्यहाँ बौदीकालीका जनप्रतिनिधि र त्यहाँका स्वास्थ्यकर्मीले जिल्लाबाट गएको टोलीलाई सहजीकरण गर्ने जनाईएको छ ।
बौदीकालीमा स्वाव संकलन भए पश्चात् ती नमुना परीक्षणका लागी बौदीकालीकै एम्बुलेन्समा पोखरा पठाउने समेत बताईएको छ ।