देवचुली ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–१२ का एक ४९ वर्षीय पुरुष । जो अहिले कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित छन् । उनको सावधानी देखेरै सबै चकित छन् । उनी अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा जेठ १ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीसंग टेलिफोनबाट गरिएको कुराकानीको सम्पादित अंश ।
म विगत ३०-३५ वर्षदेखि नै भारतमा रोजगारी गर्दै आइरहेको थिए । चार -पाँच महिना भएको थियो जागिर छोडेर देवचुली घर आएको । संचय कोषमा पैसा आउनु पर्ने थियो पैसा आयो भनेर खबर पनि आयो । त्यही कामको शिलशिलामा म भारत गए । त्यहाँ पुगेको दिन नै मेरो काम पनि बन्यो । पर्सी पल्ट हिड्ने मेरो तयारी थियो । ठ्याक्कै त्यही बेला लकडाउन भयो । मेरो त्यहाँको नोकरी छोडी सकेको थिए । अरुलाई पैसा पनि दिनु पर्ने थियो । संचय कोषबाटै आएको पैसा दिनुपर्नेलाई दिए पनि । म संग खासै पैसा बचेन । त्यसपछि न आफूसंग नोकरी छ न पैसा नै । त्यसपछि मेरो अवस्था यस्तो बन्यो की ‘पैसा न कौडी बजार बजार दौडी’ भन्या जस्तै सुको पैसा पनि छैन, बस्ने ठाउँ पनि छैन ।
३०-३५ वर्ष भारतमा नोकरी गरेर घर गएर बसेको मान्छे अहिले यस्तो स्थितिमा यहाँ आउन लेख्या रैछ र मर्न लेख्या रैछ कि क्या हो भन्ने मैले कल्पना गर्न थाले । त्यसपछि जे पर्ला पर्ला भनेर म हिँडे । रक्सौल हुँदै वीरगञ्ज आइपुगे । त्यताबाट एउटा ट्रकमा चढेर वैशाख ३० गते राती १० बजे म भरतपुर आइपुगे र ट्रकबाट ओर्लिए । मैले त्यो ट्रकको नम्बर पनि टिप्न भ्याए । पैसा दिएर आएको भएर केही परिहाल्यो भनेर नम्बर टिपेको थिए । त्यो नम्बर अहिले प्रहरीलाई दिई सकेको छु ।
भरतपुरमा एक जना डक्टर हुनुहुन्छ केशबराज भुर्तेल, अनि उहाँकै भाइ हुनुहुन्छ बोधराज भुर्तेल, अनि हाम्रै नगरपालिका वडा नं. १२ का वडाध्यक्ष दिनेश भुषाल ज्यू, भरतपुर आउँदासम्म म उहाँहरुकै सम्पर्कमै छु । उहाँहरुको सम्पर्क अनुसार सल्लाह लिँदै आए । मैले कोरोना परीक्षण नगराई घर जान्न भनेर सोच्या छु भनेर उहाँहरुलाई सुनाए । वडा अध्यक्ष ज्यूले पनि एकदम राम्रो सोँच हो, त्यही हिसाबले आउनु भनेर सुझाव दिनुभयो । राती १० बजे केन्द्रीय बस टर्मिनल चोकमा उत्रिएपछि ट्रक बाइपास हुँदै गयो भने म मुख्य राजमार्ग हुँदै हिड्न थाले । त्यही बेला एक जना भाई मोटरसाइकलमा आयो, अंकल कता हिड्न लाग्नु भएको हो ? कहाँसम्म पुग्ने हो ? अलि परसम्म भए म पु¥याई दिउँला भन्नुभयो भाइले ।
मलाई साह्रै खुशी पनि लायो । तर भाइलाई भने बाबु म यसरी इण्डियाबाट आएको हुँ, संगै बस्न म जाति पनि मान्दिन, यहाँ एकचोटी परीक्षण नगराईकन कसैसंग पनि भेट गर्दिन भने । मेरो मनमा एउटा कुरा खेल्यो । म एउटा दोषी भाको रैछु भने, मलाई त्यस्तो भाएको रैछ भने म एउटा दोषी भएर परिवार, छिमेकलाई मैले किन दोषी बनाउँ भनेर म सिधै यहाँ आएर चेकजाँच गराए । र मलाई पोजिटिभ पनि देखियो । म आत्तिएको छैन । बाँचे बाँचियाला, मरे मरियला । त्यसपछि मैले केही पनि असहज महसुस गरेको छैन । मलाई स्वास्थ्यमा कुनै लक्षण देखिएको पनि थिएन । अहिले भने धेरै बोलेर होला घाँटी बस्या जस्तो भएको छ । अरु त्यस्तो केही छैन, महत्वपूर्ण फोनहरु धेरै उठाउँदा त्यस्तो भएको जस्तो मलाई लाग्या छ ।
हामी जत्तिको सक्षम र सचेत नागरिक भएर आफू असुबिधामा परेता पनि आफ्नो परिवार, आफ्नो छिमेक असुबिधामा नपरुन् दोषी नबनुन् भन्ने मेरो सिद्धान्त छ । यस्तो विषम परिस्थितिमा सबै मान्छेहरु यही नै सोच्नु पर्छ जस्तो लाग्छ मलाई । मलाइ लाग्छ यस्तो अवस्था भयो भने नेपालमा धेरै कोरोना संक्रमण फैलिन पाउदैन ।– नारायणी अनलाईन