नवलपुर ।
संसारभर फैलिरहेको (कोभिड–१९) कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सरकारले लकडाउन गर्दै गर्दा पुर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योगबाट ६ सय बढि मजदुर घर फर्किएका छन् । उद्योगभित्र मजदुरको स्वास्थ्य सुरक्षा नभएको भन्दै २४ घण्टादेखि मजदुर काम रोकेर आन्दोलनमा उत्रियपछी उद्योगले २० जना मजदुरको मात्रै आरडिटी परिक्षण गर्दै काममा रहेका सबै मजदुरलाई घर फिर्ता गरेको हो । २० मजदुरको रिपोर्ट नेगेटिभ देखिएपछी ६ सय बढि मजदुलाई घर पठाईएको छ ।
सांसद समेत रहेका बिश्वकै धनाढ्य उद्योगपती बिनोद चौधरीले सञ्चालन गरेको उद्योगले जिल्ला प्रशासनबाट २५० मजदुरलाई काममा लगाउने अनुमती लिएर ६ सय भन्दा धेरै मजदुरलाई काममा खटाएको मजदुरले गुनासो गरेका छन् । उद्योगभित्र खान, बस्न समेत समस्या भएको, सामाजिक दुरी कायम नगरी काम गर्नुपरेको, कोरोना संक्रमित स्थानबाट आएका मालबाहल ट्रक तथा चालक र सहचालकसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने बाध्यता रहेकाले उद्योग सञ्चालनमा आएको १७ दिन पछि आन्दोलन गरि घर फर्किएको मजदुरको गुनासो छ ।
कर्मचारीको स्वास्थ्य अवस्था परिक्षण गर्दै क्वारेन्टाईन बनाएर उद्योग सञ्चालनमा ल्याउदा कर्मचारी असन्तुष्टि भएर घर जान चाहेकाले केहि कर्मचारीको स्वास्थ्य परिक्षण गरि सबै मजदुरलाई घर पठाईएको चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले बताउनुभयो । देवचुली नगरपालिकाले थोरै मात्रामा किट उपलब्ध गराएकाले परिक्षण थोरै भएको महाप्रबन्धक सिटौलाको भनाई छ । देशभरका उद्योगहरु सञ्चालनमा रहदा चौधरी उद्योग मात्र बन्द भएको सिटौलाको दाबी छ ।
तर स्वास्थ्यको दृष्टिकोणले ६ सय भन्दा धेरै मजदुर मध्ये २० जनाको मात्रै आरडिटी परिक्षण गरिनु आखामा छारो हाल्ने काम मात्रै भएको डाक्टर आशिषबाबु अर्यालले बताउनुभयो । मजदुरलाई कम्तिमा १४ दिन सम्म क्वारेन्टाईमा राखेर सबै मजदुरको स्वाब परिक्षण गरेर मात्रै घर पठाउनुपर्ने डाक्टर अर्यालको भनाई छ ।
चौधरी उद्योग ग्रामले वाईवाई चाउचाउ, चिजबल उत्पादन तथा प्याकेजिङका लागि स्थानिय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कर्मचारी युनियन लगाएको सहमती अनुशार करिव २ सय जना मजदुरलाई काममा लगाउने सम्झौता गरेको थियो । तर उद्योगले सहमति र नियमको धज्जी उडाउदै ६ सय भन्दा धेरै मजदुरलाई काममा बोलाएर उद्योग सञ्चालन गर्दा मजदुरको माग अनुशार होम क्वारेन्टाईमा बस्ने गरि उद्योगबाट घर पठाईएको देवचुली नगरपालिकाका प्रवत्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिनुभयो ।
उद्योगभित्र कार्यरत मजदुरको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै काम रोकेर आन्दोलन गरेपछी उद्योगले एक हप्ता सम्म उद्योगभित्रै क्वारेन्टाईनमा राखेर सबै कर्मचारी तथा मजदुरको स्वास्थ्य परिक्षण गरि घर पठाउने लिखित सहमती गरेको थियो । तर सबै कर्मचारी उत्पादन रोकेर उद्योगभित्रै क्वारेन्टाईनमा बस्दा उद्योगले खान, बस्न सुविद्या दिन नसकेपछी थोरै कर्मचारीको आरडिटी परिक्षण गर्दै सबै मजदुरलाई घर पठाएको स्थानियले बताएका छन् ।
देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पिपिई सहितका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्त्रण गर्न सक्ने चौधरी उद्योगले आफ्ना मजदुरलाई लापरवाही पुर्वक उद्योग बाहिर निकालेको भन्दै सामाजिक संजालमा समेत चर्को बिरोध भएको छ ।