तुलसा घिमिरे,काठमाडौं ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षकी सुत्केरीलाई कोरोना भाइरस रोगको संक्रमण कहाँबाट कसरी भयो अहिले नै यसै भन्न सकिने अवस्था छैन । काठमाडौं,टोखामा बस्दै आउनुभएकी उहाँ बेथा लागेपछि बैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो ।
२४ गते नर्मल डेलिभरी भएको र आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालले सुत्केरी भएको भोलीपल्टै डिस्चार्ज गरेको थियो । त्यसपछि सुत्केरी सहित आफन्तहरु सोही दिननै सिन्धुपाल्चोक बाह्बिसे घर गएका थिए । सुत्केरीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानिय अस्पतालमा उपचार गराई धुलिखेल अस्पताल ल्याई पुरयाएको आधा घण्टामा नै मृत्यु भयो । पछि थाहा भयो उहाँलाई कोरोना भाइरस रोगको संक्रमण भएको । हालसम्म नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने २९१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
विज्ञहरुका अनुसार नेपालमा लक्षण नै नदेखिएका व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण देखिरहेको छ । हालसम्म संक्रमण देखिएका ८० प्रतिशत व्यक्तिमा कोरोनाको लक्षण देखिएको छैन । लक्षण देखिएका आधारमा भन्दा पनि प्रभावित देशबाट आएकाहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ र स्थानिय स्तरमा नै संक्रमण फैलिरहेको छ ।
शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।सागर राजभण्डारी भन्नुहुन्छ,लक्षण विहिन अवस्थामा कोरोना पोजेटिभ देखिरहेको अवस्था छ,अब कन्ट्याक्ट ट्रेसिङ मजबुत बनाई परीक्षणको दायरा नबढाई हुदैन । उहाँका अनुसार लक्षण देखिएर संक्रमण पुष्टि भएका २० प्रतिशत संक्रमितलाई थकान महसुस हुनु,सास फेर्न गाह्रो हुनु,ज्वरो र खोकीका लक्षण देखिएका छन् ।
संक्रमण देखिएपछि अस्पताल भर्ना भएकाहरुमा गम्भिर प्रकृतिका लक्षण देखिएका छैनन् जसका कारण हालसम्म कसैलाई पनि भेन्टिलेटरमा राखेर वा अक्सिजन दिएर उपचार गर्नुपरेको छैन उहाँले भन्नुभयो,यहाँ त लक्षण नै नदेखी संक्रमण फैलिरहेको अवस्था देखियो । सुत्केरी मृत्युको केसमा पनि त्यस्तै देखिन्छ,उहाँलाई कोरोना पोजेटिभ भएको रहेछ भन्ने तथ्य मृत्युपछि परीक्षण गर्दा मात्रै थाहा भयो । यसको मतलब लक्षण देखिएकै १–२ दिनमै कोरोनाका कारण मानिसको मृत्यु भइहाल्दैन, विना लक्षण शरीरमा संक्रमण फैलिसकेको र अवस्था गम्भिर भइसकेपछि मात्रै सुत्केरीमा लक्षण देखिएको भन्न सकिन्छ । र,उहाँले समयपुग्नु एक महिना अगावै शिशु जन्माउनु पनि कोरोना भाइरसले भित्रभित्र संक्रमण गरिसकेकै कारणले होकी भन्ने प्रश्न पनि उठेको छ ।