
काठमाडौँ ।
संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए ।
संघीय संसद्का दुवै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक पनि एक दिन पर सारेको छ । १२ गते इस्लाम धर्माबलम्बीहरुकोे पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो ।