
काठमाडौं ।
नेपालबाट भारतमा हुने चिया निर्यातमा भारतले अनौपचारिक तवरले बन्देज लगाएको छ । औपचारिक निर्णयबिनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ ।

नेपालको चिया आयातमा भारतले अनौपचारिक रुपमा बन्देज लगाएको चिया व्यवसायी उदय चापागाइँले बताए । ‘कुनै पत्राचार तथा घोषणा बिनै भारतले नेपाली चिया निर्यातमा अवरोध गरेको हो,’ चापागाइँले भने ।
नेपालमा फैलिरहेको कोरोना भाइरसका कारण चिया आयात गर्न नसकिने भारतीय पक्षले जनाएको उनले बताए । भारतीय अवरोधका कारण यो सिजनको चियाको निकासी रोकिएको चापागाइँले बताए । वैशाख २८ गतेदेखि नेपालको चियाको आयात रोकिएको दार्जलिङको स्थानीय पत्रिका जनपथले जनाएको छ ।
चियामा अवरोधबारे आफूलाई औपचारिक जानकारी नभएको तर व्यवसायीबाट सुनेको मेची भन्सार कार्यालयका भन्सार प्रमुख ध्रुब विश्वकर्माले बताए ।
‘नेपालबाट भारतर्फ मेचीनाका भएर सवारी जान पहिल्यैदेखि अवरोध थियो, व्यवसायीले विराटनगरबाट कारोबार गरेका थिए अहिले त्यो पनि रोकिएको सुनेँ,’ भन्सार प्रमुख विश्वकर्माले भने ।
चिया व्यवसायीहरुकाअनुसार नेपालबाट वाषिर्क ४ अर्बको चिया निर्यात हुन्छ । भारत भएर तेस्रो मुलुक निर्यात हुने चियामा भने अवरोध छैन । यसैबीच चियाको अवरोध खुलाउन परराष्ट्र मन्त्रालयमार्फत उद्योग मन्त्रालयले पहल थालेको मन्त्रालय स्रोतले जनाएको छ ।