
काठमाण्डौ – सरकारले लकडाउन खुकुलो बनाएर उद्योग र विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने सङ्केत गरेको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन र आपूर्ति प्रणालीमा सहजता ल्याउन उद्योग खोल्न अनुमति दिइने बताउनुभयो । आफ्ना उद्योगका कामदारलाई समुदायमा छ्यासमिस नगराउने र जिल्ला जिल्लाबाट उद्योगसम्म आउने मजदुरलाई कोरोना परीक्षण गराइने प्रधानमन्त्री अोलीले बताउनुभयो ।

सम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा काम गर्ने श्रमिकहरुलाई मापदण्ड पालना गराउने र यसको जानकारी नियमित रुपमा प्रशासनलाई गराउनुपर्ने शर्त राखिने प्रधानमन्त्री ओलीले बताउनुभयो । यसको प्रभावकारिताको आधारमा अरु व्यवसाय सञ्चालनको प्रक्रिया थालिने प्रधानमन्त्री अोलीको भनाइ छ । यस्तै अब विकास निर्माणका काम पनि चल्ने प्रधानमन्त्रीले सङ्केत गर्नुभएको छ ।
‘कोरोना महामारीबीच पनि माथिल्लो तामाकोशी, मेलम्ची, पोखरा, भैरहवा र त्रिभुवन विमानस्थललगायतका आयोजनाका काम भइरहेका छन् । यसले महामारीका बीचमा पनि सुरक्षित रहेर काम गर्न सकिन्छ भन्ने पुष्टि भएको छ’, ओलीले भन्नुभयो ।