दिपक शर्मा,नवलपुर ।
मे २८ अर्थात आज अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस International Mensuration Hygiene Day) महिनावारीका कुरा मर्यादा केन्द्रीत भए मात्र हुन्छ पुरा (Menstruation Talk, Dignity First) भन्ने नारामा रहेर यो वर्षको दिवस मनाईदै छ । म सानोबाट नै बालक्लवमा लागेर होला समाजका कुरीती, कुसँंस्कारका विरुद्ध आवाज उठाउनुपर्दछ भन्ने नै सिके । महिनावारी अथवा नछुने भन्ने जुन तर्कका साथ स्थानीय स्तरमा यसको व्यवहार थियो, सुरुमा आफुलाई नै अचम्मै लाग्दथ्यो । विद्यालय तहमा अध्ययनरत हुँदा केटी साथीहरुको विद्यालयमा पुरै महिनामा नियमितता नहुनुको कारण यो महिनावारी पनि हो भनेर केही साथीहरुले भन्दा म आफुलाई अचम्मै लाग्दथ्यो र यसको न्युनिकरणको लागि स्वयम लाग्नुपर्दछ भनेर केही कार्यहरु पनि सुरु त गरिन्थ्यो, तर समाजका सवै व्यक्तिहरुको सोच र विचारको कारणले गर्दा यो समस्याहरु समाधान गर्न भने सोचे अनुरुप सकीएन् ।
जव कक्षा ११ र १२ मा पढ्दा केटी साथीहरुसँग यो विषयमा खुलेर कुरा हुन थालेपछी भने यसको लागि अभियान नै सुरु गर्नुपर्दछ र त्यसमा पनि पुरुषको सहभागिता गर्नुपर्दछ भनेर हामी केही केटा साथीहरुले योजना निर्माण त गरियो, त्यती बेला पनि यो विषय भनेको पुरुषको होईन, महिलाको मात्र हो भनेर हामीलाई केही साथीहरुले कस्तो केटी जस्तो भएर हिड्छ भन्नेर फरक ढंगले समेत हेर्ने र व्यवहारहरु भोगेको पनि अनुभव रहेको छ । आखीर आज पनि हामी महिनावारी भन्ने बित्तिकै महिलाको मात्र विषय र हल्का रुपले लिएको कारणले गर्दा यसका केही विकृती र विसंगतीहरु पनि संगै देखीएको छ । नछुने हुने र महिनावारी विचको यो शाव्दिक अर्थको पनि फरक फरक रुपमा अध्ययन गरी मानिसहरु भित्र रहेको यो सोचलाई परिवर्तन गर्नको लागि नै आजको आवश्यकता र मर्यादित महिनावारीको बारेमा खुलेर सवैले बहसहरु सुरु गर्नु नै यसको उपलब्धी हुनेछ ।
आज, म एउटा पुरुष भएर पनि केही किशोरीहरु, महिलाहरु, युवाहरु र समाजका सवै क्षेत्रका मानिसहरुको क्षमता विकास र उनीहरुको शसक्तिकरणमा लाग्दा पनि देखेको केही उदाहरणहरु चाँँही आखीर महिनावारी र नछुने भन्ने व्यवहारहरु त मानवअधिकार मैत्री हैन रहेछ, यसको असर दिर्घकालसम्म रहने र यही कारणले गर्दा नै उनीहरुको स्वास्थ्य, शिक्षा, खेलकुद, सहभागिता र संरक्षणमा हानी पुर्याएको पो रहेछ । हामीले अहिले किशोरीहरुको क्षमता विकास र शसक्तिकरणको पाटोमा कार्य गर्दा समेत यसका फरक फरक अवयवहरु देखीन थालेका छन्, कोही किशोरीहरु महिनावारीको समयमा पनि घरमा परिवारलाई बुझाउन सफल भई खाना पकाउने, विभिन्न चाडपर्वहरुमा सहभागिता हुने र सवै कार्यहरु गर्न सफल भएका छन् भने केही किशोरीहरुको भने अझै पनि यो विषयमा सकरात्मक हुन नसकेको तितो यथार्थ पनि रहेको छ ।
नेपालमा पनि फरक फरक स्थानमा यसको अवस्थाहरु जात अनुसार, धर्म अनुसार फरक फरक रहेको छ । नेपालको पश्चिम क्षेत्रमा महिनावारीको बेलामा घरमा नै बस्न नदिने र घरबाट बाहीर छाउगोठमा राख्नाले बर्षेनी धेरै किशोरीहरु र महिलाहरुले अकालमा ज्यान गुमाउने, विभिन्न हिंसा, दृव्र्यवहारहरु र शोषणमा परेको विभिन्न तथ्याँकहरुले देखीन्छ । नेपालका सवै क्षेत्रमा आज पनि यसको अवस्थाको बारेमा खुलेर बहसहरु नभएको र यसको सही सुचनाहरु समेत पाउन नसकेको कारणले गर्दा नेपालमा अझै पनि महिनावारीको कारणले गर्दा हुने विभेद, शोषण र अन्याय किशोरीहरु र महिलाहरुमाथी छ भन्नेमा दुई मत रहेको छैन । आखीर महिनावारी मर्यादित र सुरक्षित हुनको लागि पुरुषहरुको सहभागिता आवश्यकता छैन र ? के सधैव पितृसत्तात्मक सोचको कारणले गर्दा महिलाहरुले गर्वका साथ लिनुपर्ने महिनावारीको गुणलाई घृणा गर्नुपर्ने ? किन हामी सरोकारवालाहरुले यसको बारेमा बृहत छलफल र सही वातावरणको सृजना गर्न सकेनौ ? अव यि प्रश्नहरुको खोजी हुनु आवश्यक छ ।
महिनावारी महिलाको मात्र होईन की एक जना केटा साथीको, एक जना दाईको, एकजना भाईको, एकजना श्रीमानको, एकजना बुवाको, एकजना हजुरवुवाको र एकजना ससुरावुवाको पनि हुनु आवश्यक छ । अग्रेजीमा एउटा भनाई छ ,” BREAK THE SILENCE ” साच्चीकै अव बेला आएको, जुन वर्षौबाट रहेको मौनताको अन्त्य अव हामीले सुरु गर्नु पर्दछ । के महिला, के पुरुष सवैकोे एउटा साझा विषय र साझा मुद्धाको रुपमा महिनावारी र यसको व्यवस्थापन, सरसफाईसँग जोडिएका विषयहरुमा नीतिगत रुपमा नै सुधार सँगै हाम्रो समाजमा व्याप्त रहेको सोचको अन्त्यको लागि स्वयम पुरुषहरुले नै अग्रपंक्तीमा आई यो महिलाको मात्र होईन, पुरुषको पनि साझा मुद्धाको रुपमा स्थापीत गर्नु आवश्यक छ । विद्यालयमा पाठय्क्रमहरुको तयारी र सो पाठहरुलाई पुरुष शिक्षकहरुले पढाउँदा छात्राहरु मुख तल राख्ने र मुख छोप्ने प्रचलनको अन्त्य हुनु आवश्यक छ, घरमा दाजु भाईले बहिनी र दिदीको लागि अन्य कपडाहरु र उपहारहरु दिन सक्नेले महिनावारीको बेलामा प्रयोग गर्ने सेनेटरी प्याड पनि उपहार स्वरुप पसलहरुबाट विना हिचकिचहात खरिद गरेर दिने बानीको विकास आवश्यक छ, श्रीमानले श्रीमतीलाई महिनावारीको समयमा आवश्यक आराम र स्वास्थ्य उपचार एवमा स्नेहको बाताबरण सृजना गर्नु आवश्यक छ, अफिसमा पुरुष हाकीमले महिनावारीको समयमा हुन सक्ने पिडा, दुखाईको अन्त्यको लागि आवश्यक आराम, खाजा, र आराम कक्षको व्यवस्थापन गर्नु आवश्यक छ ।
अवको आवश्यकता भनेको सवै तहमा यसको बारेमा खुल्ला बहस, छलफलहरु सँगै राज्यहरुबाट प्रदान गर्न सकीने नीतिगत सुधारहरु र सुविधाहरु किशोरीमैत्री र महिलामैत्री हुन सके मात्र यसको सही अर्थमा मर्यादित र सम्मानीत महिनावारी हुनेछ । अनी सवै किशोरीहरु र महिलाहरुले महिनावारीलाई कुनै श्रापको रुपमा भन्दा पनि गर्वको रुपमा लिन सक्नेछन् । मर्यादित महिनावारीको बारेमा खुल्ला छलफल गरौ, सम्मानीत हुने वातावरणको सृजना गरौ ।
दिपक शर्मा जागृति बाल तथा युवा सरोकार नेपाल- महासचिव