भिम भुसाल, देवचुली ।
नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिकाले पिसिआर परिक्षणका लागि आँफैले भिटिएम खरिद गरि स्वाब संकलन कार्य शुरु गरेको छ । भिटिएम किटको अभावले क्वारेन्टाईनमा बसेका ब्यक्तिको स्वाब संकलन हुन रोकिएपछी नगरपालिका आँफैले ९० ओटा भिटिएम खरिद गरि स्वाब संकलन शुरु गरेको हो ।
बिहिवार देवचुली नगरपालिकाले नगरभित्र रहेका ८ सामुदायिक क्वारेन्टाईनमा बसेका १०५ जना मध्ये ६९ जनाको स्वाब संकलन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरको सामुदायिक क्वारेन्टाइनमा रहेका १४ महिने बच्चादेखी महिला तथा पुरुष गरि ६९ जनाको स्वाब संकलन गरि पोखरा पठाईएको नगरपालिकाले जनाएको छ।
कोरोनाको उच्च जोखिम मानिएका बाँके तथा भारतबाट नगरप्रवेश गरेका नगरबासिको स्वाब संकलन गरिएको हो ।
नगरभित्र रहेको भिमसेन आर्दश मा.वि. क्वारेन्टाईनबाट ३२ जना, दिब्यज्योती क्वारेन्टाईनबाट ३, कालिका मा.वि क्वारेन्टाईनबाट ९, जनज्योती मा.वि क्वारेन्टाईनबाट ४, नेपाल मा.वि. क्वारेन्टाईनबाट १६ र बरचुली मा.वि. क्वारेन्टाईनबाट ४ जनाको स्वाब पठाईएको नगरपालिकाले जनाएको छ ।
हाल सम्म देवचुली नगरपालिकाले ७५ जनाको स्वाब परिक्षण गरिसकेको छ जसमध्ये नगरबाटै संकलन गरि पठाईएका ३ जनामा कोरोना पोजेटिभ पाईएको थियो । अहिले संक्रमित २ ब्यक्तिको मध्यविन्दु जिल्ला अस्पताल र एक जनाको भरतपुर अस्पतालको आईसोलेशनमा उपचार भैरहेको छ ।
संकलन गरि पोखरा पठाईएका स्वाबको रिपोर्ट ४–५ दिन भित्र आउने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।