
डोलराज रानाभाट,नवलपुर ।
देवचुली नगरपालिकाको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयलाई नवलपुर जिल्लाकै एक मात्र कोरोना अस्थायी अस्पताल निर्माण गर्न ६० लाख बजेट जुटेको छ । प्रतिवद्धता व्यक्त भएको उक्त रकम केही दिनमै खातामा जम्मा हुने छ । हिजो जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे सहित ८ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, चिकित्सक,स्वास्थ्यकर्मीहरु सहितको बैठकले आवश्यक पूर्वाधारको विकास सहित सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय भएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले बताउनुभयो ।

उहाँले आइसोलेसन अस्पताल निर्माण गर्ने योजना अनुसार अहिले प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग गरेको बताउनुभयो । तत्काललाई १०० बेड तयार पारिएको छ । जिल्लाका ४ गाउँपालिकाले ७ लाखका दरले र ४ नगरपालिकाले ८ लाखका दरले रुपैया तत्काल सहयोग गर्ने निर्णय भएकाले अव बजेटको समस्या नहुने भुषालले बताउनुभयो । साथै गण्डकी प्रदेशबाट देवचुली नगरको खातामा प्राप्त १० लाख पनि सोही अस्पताल निर्माणका लागि उपलब्ध गराउने उहाँले बताउनुभयो ।
आजसम्म २५ जना कोरोना संक्रमितको उपचार जारी रहेको प्राकृतिक चिकित्सालयलाई थप व्यवस्थित गराउन दुई वटा गेट निर्माण आजबाट सुरु हुने उहाँको भनाई छ । एउटा गेटबाट संक्रमित र अर्को गेटबाट चिकित्सक स्वास्थ्यकर्मी प्रवेश गर्ने मिल्ने गरी गेट निर्माण गरिने उहाँले बताउनुभयो । प्रत्येक कोठामा सीसीटिभ जोडिएको र प्राकृतिक विधिबाट उपचार जारी रहेको छ । जिल्ला अस्पतालका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सम्वन्धि समिति, आफ्नै संयोजकत्वमा ५ सदस्यीय समग्र व्यवस्थापन समिति गठन भई काम सुरु भइसकेको भुषाले बताउनुभयो ।
आफ्नो समितिले जनशक्ति व्यवस्थापन, खरिद भौतिक निर्माण लगायतको काम गर्ने र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुलाई, एम्वुलेन्स चालकहरुलाई पनि नेपाल सरकारले दिएको सेवा सुविधा उपलब्ध गराउने गरी काम सुरु भएको हो । अव आर्थिक अभाव नरहेको र छिट्टै ४०० वेड सम्मको आइसोलेसन विस्तार गर्ने उहाँले योजना सुनाउनुभयो । त्यस्तै संक्रमित वढ्न सक्ने आकलन गरी राम्रा र धेरै ट्वाइलेट भएको विद्यालयमा पनि तयारी गरिने गरी ६०० देखि ७०० वेड तयार गर्न आफूहरु लागि परेको बताउनुभयो ।
भारतबाट आउनेहरुको सख्या घटेपनि अन्य देशबाट आउनेहरुलाई व्यस्थित गर्न आफूहरु तयार रहेको बताउँदै कोरोनाका लक्षण नदेखिएका विरामीलाई रजहरमा र जटिल अवस्था आए भरतपुरको कोरोना अस्थायी अस्पतालमा उपचार गरिने भएको छ ।