नवलपरासी ।
पश्चिम नवलपरासीमा जनप्रतिनिधि, स्वास्थ्य प्रमुख लगायतले धुमधामका साथ खादा ओढाएर, मिठाई बाँढेर आइसोलेशनबाट विदाई गरिएका ७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उनीहरुलाई विहीबार विदाई गरिएको हो । त्यसको भोलिपल्ट अर्थात शुक्रबार कोरोना भाईरस पोजेटिभ देखिएको हो ।
उनीहरु सबै पाल्हीनन्दन गाउँपालिकाका हुन् । त्यसैगरी क्वारेन्टाइनमा बसेर आरडिटी परीक्षण गर्दा नेगेटिभ आएर विदाई गरिएका अर्का एक जनामा पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ उनी पनि पाल्हीनन्दन गाउँपालिकाका हुन् । उनीहरुलाई बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए । समाचार संकलनका लागि दुई पत्रकार पनि पुगेका थिए । पत्रकारहरुले टाढैबाट फोटो खिचे पनि जनप्रतिनिधिहरुले भने उनीहरुलाई खादा ओढाउँदै मिठाई हात हातमा बाँडेका थिए ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजिटिभ देखिएपछि उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो । आइसोलेनमा बसेका उनीहरुको पुनः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो ।
शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।
‘आइसोलेसनमा बसेकालाई परीक्षण नगरी घर पठाउने आदेश छ । तैपनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौं । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुनः पोजिटिभ देखियो,’ ढकालले भने । त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एकजनामा पोजिटिभ देखिको छ । क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजिटिभ आएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको थियो । क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्रयाक ट्रेसिङ गरिएको थियो ।