भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ९ ले आर्थिक रुपमा विपन्न तथा आमा गुमाउनुपरेका शिशुको पोषणको लागि आर्थिक सहयोग रकम उपलब्ध गराएको छ । किशोर अवस्थामा विवाह गरि मृत्यु भएकी आमाको सन्तानलाई वडाले सुनौलो हजारदिनका आमाहरुलाई पोषण कार्यक्रम अन्तर्गत उक्त नवजात शिशुको भरणपोषमा आर्थिक सहयोग गरेको हो ।
गत फाल्गुन महिनामा देवचुली नगरपालिका वडा नम्बर ९ मा १५ वर्षिय किशोरी र १६ वर्षिय किशोरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । ८ महिने गर्भावस्थामा किशोरले उक्त किशोरीलाई घर भित्राए । सानै उमेरमा विवाह गरेका किशोर किशोरीले गत बैशाख १६ गते छोरिलाई जन्म दिए । सन्तान जन्मिएपश्चात किशोरीको शरिरमा विभिन्न प्रकारका समस्याहरु देखिन थाल्यो । टाउको दुख्ने, निमोनिया हुने तथा सुत्केरी पश्चात रक्तस्रावहुने समस्या बल्झिदै गयो । अन्तत: शिशु जन्माएको एक महिना पछि गत जेठ २२ गते उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा सुत्केरी किशोरी आमाको मृत्यु भयो ।
एक महिने शिशुलाई बचाउनु नै प्रमुख दायित्व रहेको भन्दै देवचुली नगरपालिका वडा नम्बर ९ ले विभिन्न ब्यक्ति, संघसंस्था तथा नगरपालिका संग आर्थिक सहयोग संकलन गर्दै शिशुको पोषमा ध्यान केन्द्रित गरिरहेको छ । अहिले उक्त शिशु ४ महिनाकी भएकी छन् ।
वडाले आथिक वर्ष २०७६-०७७ को सुनौलो हजार दिनका आमाहरुलाई पोषण अन्तर्गत १२ हजार रुपैया उक्त ४ महिने शिशुको परिवारलाई हस्तान्त्रण गरेको देवचुली नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मेखबहादुर सारुले पावर संदेशलाई बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत नै आज वडाले अन्य जुम्ल्याहा २ वालकलाई समेत ४-४ हजारको दरले आर्थिक सहयोग उपलब्ध गराएको छ । २ बालकलाई जम्मदिएपश्चात आमाको मृत्यु भएपछी उनिहरुको भरणपोषणमा वडाले आर्थिक सहयोग रकम उपलब्ध गराएको अध्यक्ष सारुले बताउनुभयो ।
वडाले विभिन्न समयमा आर्थिक रुपमा विपन्न परिवारलाई सहयोग रकम उपलब्ध गराउदै आएको छ ।