देवचुली ।
देबचुली नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएपछिको कन्ट्याक ट्रेसिङमा रहेका अधिकांशको स्वाव नमूना संकलन हुँदा नगर प्रमुखको भने स्वाव संकलन भएन ।
भदौ १७ गते संकलित स्वाव नमूनाको रिपोर्ट भदौ १९ गते प्राप्त हुँदा देबचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले प्राय प्रयोग गर्ने सवारी साधनका चालकमा संक्रमण पुष्टि भएपछि निकट सम्पर्कमा रहनुभएका वहाँको स्वाव परीक्षण नहुँदा स्थानीय समेत सशंकित बनेका छन् ।
देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठका अनुशार आफुमा अहिले त्यस्तो कुनै लक्षण नदेखिएकाले स्वाव नदिएको र होम क्वारेन्टिनमा बसेको बताउनुभयो । उहाले भन्नुभयो, “अहिले म घरमै क्वारेन्टाईनमा बसेको ७ दिन भयो । कुनै प्रकारको लक्षण देखिएको छैन, यदि लक्षण देखिएमा ३- ४ दिनमा स्वाव परिक्षण गर्ने छु ।”
यता, नगरबासी भने नगरपालिकाको मेयरले आफ्नो सवारी साधन चलाउने चालक घरको पारिवारीक सदस्यभन्दा पनि नजिक रहेर सम्पर्कमा रहने कर्मचारी भएकाले वहाँको स्वाव संकलन नहुँदा त्रासको बातावरण सृजना भएको बताउछन् ।
हिजो नगरपालिकाका कर्मचारी सहित १ सय १९ जनाको स्वाव संकलन भएको छ । संकलनपछि स्वाव परीक्षणका लागी पोखरा पठाईएको छ ।
नगरपालिकाका कर्मचरीको कन्ट्याक ट्रेसिङमा रहेका ३४ जना कर्मचारी, नगरपालिकामा कार्यरत ५ जना सुरक्षाकर्मी, क्वारेन्टिनमा बसेका १६ जना, ज्वरो लक्षण देखिएका १४ जना र अन्य संक्रमितको कन्ट्याक्ट टे«सिङका ५० जना गरि १ सय १९ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पोखरा प्रयोगशालामा पठाईएको देवचुली नगरपालिका स्वास्थ शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।