
दिपेन्द्र अधिकारी, भरतपुर ।
भरतपुर अस्पताल र यस मातहत रहेको कोभिड ल्याबका कर्मचारीले अझै कोरोना जोखिम भत्ता पाएका छैनन् । चैतदेखिको गणना भई भत्ता पाउनुपर्नेमा अहिलेसम्म नपाएको स्वास्थ्यकर्मी र अन्य सम्बन्धित सरोकारवालाहरुको भनाइ छ ।
भरतपुर अस्पतालमा अर्थ मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको २ करोड ३३ लाख ६७ हजार रूपैयाँ जम्मा भएको छ । भदौ ३ गते नै मन्त्रालयले रकम जम्मा गरे पनि हालसम्म स्वास्थ्यकर्मीको हातमा भत्ता हात परेको छैन । अस्पतालको खातामा पैसा जम्मा भएको १ महिना बितिसक्दा पनि आफूहरुले नपाउनु दुःखको कुरा भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालले अस्पतालको खातामा रकम आए पनि वितरण नभएको बताए । वितरणका लागि एउटा समिति बनेको र त्यसै समितिको निर्देशनबमोजिम बाँड्ने योजना रहेको तर समितिले हालसम्म कुनै निर्देशन नदिएको लेखा प्रमुख खनालको भनाइ छ ।
आफैँ कोरोना सङ्क्रमित भई रातदिन नभनी उपचारमा खटिएकाहरु अस्पताल व्यवस्थापनको कमजोरीका कारण हालसम्म भत्ता नआएको प्रतिक्रिया दिन्छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भत्ता रकम आए पनि वितरण नभएको स्पष्ट पारे ।
मागेको भन्दा आधा कम
भरतपुर अस्पतालले चैतदेखि असारसम्म चार महिनाको मात्रै ५ करोड ४० लाख हिसाब केन्द्रमा रकम माग गरी पठाएको थियो । तर, माग गरेको भन्दा आधा कम अर्थात् २ करोड ३३ लाख ६७ हजारमात्रै आएपछि थोरै रकम के–कसरी वितरण गर्ने भन्नेमा अस्पताल अलमलमा परेको छ । ‘वास्तविक हिसाब निकालेर हामीले ५ करोड बढी माग्यौँ, तर आउने बेला जम्मा २ करोड ३३ लाखमात्रै आयो’, लेखा प्रमुख खनालले भने, ‘मागेको भन्दा कम आएपछि के–कसरी वितरण गर्ने भन्ने समस्या परेको छ ।’
कोरोनाका बिरामीको उपचारमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको भनाइ छ । कर्मचारीहरुले जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ बमोजिम सुरू तलब स्केलको ५० देखि १०० प्रतिशतसम्म भत्ता पाउनेछन् ।
नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा। अनिलविक्रम कार्कीले भत्ता वा सुविधा नपाउनु दुःखको विषय भएको बताए । भरतपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले जोखिम भत्तामात्रै नभई विगत साउन र भदौको नियमित तलबसमेत नपाएको बताए ।
कोरोना परीक्षण गर्न काठमाडौँ
रि–एजेन्ट (केमिकल) अभाव हुँदा भरतपुर कोभिड ल्याबमा कोरोना परीक्षण रोकिएको छ । सोमबार र मंगलबार जम्मा भएको ३ सय २५ वटा नमुना मंगलबार दिउँसो राष्ट्रिय प्रयोगशाला काठमाडौँ पठाइएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । रि–एजेन्ट अभाव भएपछि सोमबारदेखि संकलन भएका नमुनाहरु राष्ट्रिय प्रयोगशाला पठाउने अवस्थामा अस्पताल पुगेको छ । पिसिआर परीक्षणमा रि–एजेन्ट केमिकलको भूमिका मुख्य रहन्छ ।-चितवन पोष्ट
