काठमाडौं ।
नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ११ दिन पछि छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो । भेटमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस लगाएतका अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव लगायतका विषयले प्रचण्ड ओलीसँग असन्तुष्ट थिए। ओली निकटका नेताहरु विभिन्न सन्देश लिएर पटक–पटक खुमलटार पुग्दापनि प्रचण्ड भने छलफलका लागि तयार थिएनन् । गत बुधबार ओली निकट महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसपछि ओली निकटका नेताहरुले लगातार प्रचण्डसँग भेट गरिरहेका छन् । त्यस्तै बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समेत अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए । त्यस पछि मात्र प्रचण्ड बैठककालागि तयार भएका थिए । शनिबार बालुवाटार बैठक जानुअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले छलफल गरेका थिए ।