
काठमाण्डौ ।
कोरोना भाइरसका कारणगर्दा मारमा परेका ऋणीलाई कालोसूचीमा नराख्न र धितो लिलाम नगर्न राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई आग्रह गर्नुभएको छ । मौद्रिक नीतिको कार्यान्वयनका सन्दर्भमा राष्ट्रबैंकले गरेको भिडिओ अन्तर्क्रियामा गभर्नर अधिकारीले कोरोना महामारीका कारण उद्योग, व्यवसाय शिथिल बनेको कारण तत्काल ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने जस्ता कार्य नगर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोभिडबाट प्रभावित व्यवसायी तथा ऋणीलाई कालोसूचीमा राख्न र धितो लिलाम नगर्न हामीले निर्देशन दिएका छौँ, त्यसको कार्यान्वयन गरिदिनुस् ।’
साँवा्ब्याज भुक्तानी लिँदा बैंकहरुले ग्राहकको अवस्था हेरेर व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो । ुकोरोनाबाट बढि प्रभावमा परेका व्यवसायीहरुसँग लचकता अपनाउन र सक्दो सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, कोरोना महामारीका कारण बैंक तथा वित्तीयलाई परेको कठिनाइलाई सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राख्नुभयो ।

गभर्नर अधिकारीले कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी बैंकले उदार र राहतमुखी मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गरिदिन बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरुसँग आग्रह गर्नुभयो ।
यो वर्ष व्यवसायीलाई राहतस्वरूप दुई खर्ब रुपैयाँको पुनर्कर्जा सुविधा र २० प्रतिशतसम्म अतिरिक्त कर्जा सुविधा पाउने व्यवस्था गरिएको स्मरण गराउँदै गभर्नर अधिकारीले यस्तो सुविधाको उपयोग गरिदिन व्यवसायीहरुसँग अनुरोध गर्नुभयो ।
अन्तर्क्रियामा अर्थ मन्त्रालयका सचिव एवम् नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य शिशिरकुमार ढुङ्गानाले कोभिडका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि सरकारले बजेटमार्फत विभिन्न नीतिगत सहुलियत ल्याएको जानकारी दिनुभयो ।
शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिन सरकार, राष्ट्र बैंक, वित्तीय संस्था र उद्योगी व्यवसायीहरु सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले अवलम्बन गरेको नीतिगत प्रयासका कारण अर्थतन्त्र गम्भीर दुर्घटनामा पर्नबाट जोगिएको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी अन्य उद्योगी व्यवसायीले कोभिड प्रभावित व्यवसायको लागि राष्ट्र बैंकबाट जारी भएको नीतिगत सहुलियत उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले बेवास्ता गरेको गुनासो राखेका थिए । खासगरी पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाको सुविधा सहजरूपमा नपाइएको, ब्याज छुट नपाएको, ब्याजदर नघटेको भन्दै उनीहरुले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । वित्तीय संस्थाहरु सेवामुखी नभएर व्यापारमुखी बन्दै गएको गुनासो उद्योगी व्यवसायीहरुको थियो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाको कार्यान्वयनका निम्ति आफूहरु प्रतिबद्ध रहेको धारणा राखेका थिए । नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष भुवनकुमार दाहालले राष्ट्र बैंक र उद्योगी, व्यवसायीसँग हातेमालो गरेर अघि बढ्न वित्तीय क्षेत्र तयार गरेको बताउनुभयो ।