
काठमाडौं ।
लकडाउन र लामो समयको बन्दाबन्दीको कारण चरम संकटमा परेका व्यवसायीहरुले आफ्नो ब्यवसाय धरासायी भएको भन्दै करिव १ खर्ब १३ अर्ब बराबरको पुनर्कजा माग गरेका छन् । लघु, घरेलु तथा साना उद्यम कर्जा, साधारण तथा विशेष कर्जा अन्तरगत करिव ४४ बैंक तथा वित्तिय संस्थाहरुमार्फत ७२ अर्ब रुपैयाँ पुनकर्जाको लागि ब्यवसायीहरुले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म पुनःकर्जाको लागि बैंक तथा वित्तिय संस्थाहरुसँग संयुक्त आवेदन माग गरेको थियो । व्यवसायिको प्रकृति अनुसार बढिमा २० करोड रुपैयाँ सम्म प्रभाह हुने कर्जा अन्तरगत दुई सय भन्दा बढिले लगभग ४१ अर्ब रुपैयाँ माग गरेका हुन् ।
एकल ग्राहकमा जाने पुनःकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले सोझै राष्ट्र बैंकमा माग आवेदन पेस गर्न सक्छन् ।
एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जामा कोषको कुल रकमबाट ७० प्रतिशतसम्म र ग्राहक अनुसार कोषको रकमबाट २० प्रतिशतसम्म पुनर्कर्जा प्रवाह हुने व्यवस्था छ । लघुवित्त कम्पनीहरूबाट भने कोषको १० प्रतिशत रकम प्रवाह हुनेछ । हाल यसको माग भने गरिएको छैन । करिव ८ अर्ब ७० करोड रुपैयाँको पुनर्कर्जा होटेल व्यवसायीहरूले माग गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । सबैभन्दा धेरै बागमती प्रदेशबाट १८ अर्ब रुपैयाँको माग परेको छ ।
कोषमा जम्मा ४२ अर्ब ५० करोड
१ खर्ब १३ अर्बको पुनर्कर्जा मागमा सबै योग्य भएमा राष्ट्र बैंकले ७० अर्ब ५० करोड रुपैयाँ नगद वितरण गर्नुपर्ने हुन्छ । तर हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ मात्र छ ।
राष्ट्र बैंकले प्रणालीमा नरहेको, तर छापेर आइसकेको मुद्रा भएमा त्यसलाई बजारमा पठाउन सक्छ । त्यस्तै, पुनर्कर्जा कोषमा भएको रकमको पाँच गुणासम्म राष्ट्र बैंकले कर्जा लगानी गर्न सक्नेछ । हाल ४२ अर्ब ५० करोड रुपैयाँ रहेको कोषको आकार २ खर्ब १२ अर्बसम्म बनाउन सकिनेछ । ‘कोषमा भएको भन्दा बाँकी सबै रकम छाप्नैपर्छ भन्ने हुँदैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘हाम्रा अन्य कोषहरूमा के–कति जम्मा हुँदै छ, त्यो पनि प्रयोग गर्न सकिन्छ ।’
गोदाममा रहेका वा छापेर नयाँ मुद्रा पठाउँदा भने दायित्व बढ्ने हुँदा त्यहीअनुसार सम्पत्ति राष्ट्र बैंकले राख्नुपर्ने हुन्छ । बजारमा थप मुद्रा पठाउँदा मुद्रा प्रवाहसमेत बढ्नेछ भने यसले मुद्राको अवमूल्यनसमेत हुनेछ र महँगी बढ्नेछ । विस्तृत मुद्रा प्रवाह भदौमा शून्य दशमलव ९ प्रतिशतले बढेर ४२ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । चलनचल्तीको मुद्रा भने २ प्रतिशतले बढेर ५ खर्ब रुपैयाँ छ ।
पुनर्कर्जाका लागि आएको मागमा एकमुष्ट रूपमा प्रदान गरिने कर्जा बैंक तथा वित्तीय संस्थाले नै ग्राहकको अवस्थाअनुसार लगानी गर्न सक्नेछन् । ग्राहकअनुसार प्रदान गरिने कर्जाको भने राष्ट्र बैंकले समेत मूल्यांकन गर्नेछ ।
लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि बैंकहरूले राष्ट्र बैंकबाट क्रमशः २, ३ र १ प्रतिशत ब्याजदरमा पुँजी पाउनेछन् । यसरी पाएको रकममा यी शीर्षकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले क्रमशः ५,५ र ३ प्रतिशतमा कर्जा लगानी गर्नुपर्छ । एकल ग्राहक कर्जालाई साधारण पुनर्कर्जाअन्तर्गत राखिएकाले सोहीअनुसार ब्याजदर लागू हुन्छ ।
