
काठमाडौं ।
विद्यार्थीहरुको पढाईमा सहजताकालागि निःशुल्क सिमकार्ड वितरण गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
हाल कोरोना महामारीका कारण विद्यार्थीहरु विद्यालय गएर प्रत्यक्षरुपमा पठनपाठन गर्न सकेका छैनन् । सरकारको निर्देशनमा विभिन्न विद्यालयहरुले अनलाइनको माध्यमद्धारा पठनपाठन सञ्चालन गरिरहेका छन् । तर कतिपय ठाउँमा संचारमाध्यमको अभावका कारण विद्यालय तथा विद्यार्र्थीहरुले क्लास लिन सकिरहेका छैनन् । त्यस कारण दुर्गम ठाउँका सामुदायिक विद्यालयको पठनपाठन अनलाईन मार्फत सञ्चालन गर्न सहजहोस भन्ने हिसाबले विद्यार्थीहरुलाई निःशुल्क सिमको व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको उहाँले बताउनु भयो ।
प्राधिकरणको कार्यालय भ्रमण गर्दै मन्त्री गुरुङले मंगलबार कोरोना महामारीका कारण शैक्षिक सत्रको पठनपाठन हुन नसकेको बताए । हरेक वडा तह र स्वास्थ्यचौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाइ नगर्न उनले प्राधिकरणलाई सचेत गराए ।
देशभर अप्टिकल फाइबर बिछ्याउने (सूचना महामार्ग) कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि मन्त्री गुरुङले प्रतिबद्धता जनाए । तीन वटा प्याकेजमा विभाजन गरी निर्माण सुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २, वाग्मती, कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।
