
नवलपुर। भोलिदेखि सुरु हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार नवलपुरबाट ६० वटा विद्यालयका ६ हजार ८१३ जना विद्यार्थीहरुले परीक्षा दिँदै छन् । जसमा नियमित तर्फ ४ हजार ९०९ र ग्रेडबृद्धितर्फ १ हजार ९०४ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

पोखरेलका अनुसार परीक्षार्थी पढेकै विद्यालयमा केन्द्र निर्धारण गरिएकोले यस पटक ६० वटा केन्द्र नै रहेकाछन् । सम्वन्धित विद्यालयको प्रधानाध्यापक वा क्याम्पस प्रमुख नै केन्द्राध्यक्ष तोकिएको र प्रति २० जना परीक्षार्थी बरावर एक जना निरीक्षकको व्यबस्था गरिएको छ ।
भोलि विहान ८ बजेबाट सुरु भएर ९ बजेर ३० मिनेटमा सकिने परीक्षालाई मर्यादित गराउन सम्वन्धित सरोकारवालाहरुलाई पोखरेलले अनुरोध गर्नुभएको छ । स्वास्थ्य एवम सुरक्षाका मापदण्डको पालना सहित परीक्षा हुने भएको छ । कोरोना संक्रमित विद्यार्थीहरुलाई भने छुट्टै परीक्षाको व्यवस्था गरिएको छ ।