
काठमाडौँ।
नेकपा सचिवालय बैठक पार्टीको मुख्य कार्यालय धुम्बाराहीमा दिउँसो बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनितिक प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेको छ ।
अध्यक्षद्धयले एक अर्का माथि गम्भिर र संघिन आरोप सहितको प्रतिवेदन पेश गरेपछि विवाद चरम उत्कर्षमा पुगेको छ । दुवै अध्यक्षले पेश गरेको प्रतिवेदन केहि समयको अध्ययन पछि आज सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’ बताइरहँदा प्रचण्ड पक्ष भने प्रधानमन्त्री ओली ‘सच्चिनुपर्ने’ अडान लिइरहेको छ । सचिवालय बैठकमा छलफल हुनुअघि नै दुवै पक्ष रणनीति बनाउन व्यस्त थिए।

नेकपाका ‘कार्यकारी’ अध्यक्ष प्रचण्ड र उनको साथमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाइ एक्ल्याएरै लैजाने र बहुमतको निर्णय मान्न बाध्य पारिने रणनीति अँगालेको बुझिन्छ । साथै सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा समेत लैजाने र छलफलबाटै निधो गर्ने यो पक्षको प्रयास रहेको स्रोतको भनाइ छ ।
उता, प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्ष भने सकेसम्म प्रचण्डलाइ मनाएर प्रस्ताव फिर्ता गराउने र विवाद साम्य पार्ने रणनीतिमा लागेको छ । यस पक्षको जोड दुवै अध्यक्षका प्रस्ताव संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउनुपर्नेमा रहेको स्रोत बताउँछ । सचिवालय तथा स्थायी कमिटीमा प्रचण्ड(नेपाल पक्षको बहुमत रहेको बुझेरै ओली पक्ष भने ‘अन्तरिम’ कमिटीमा बहुमत र अल्पमतको कुनै महत्व नहुने भन्दै यसअघि पनि उक्त बैठकहरूले गरेका निर्णय नमान्ने पक्षमा उभिएको थियो ।