काठमाडौं।
विश्व फुटबलको चर्चित नाम डिएगो म्याराडोनाको सम्मानमा इटालीमा रहेको स्टेडिओ सान पाओलोका रंगशालाको नाम नै परिवर्तन भएको छ । अहिलेसम्म स्टेडिओ सान पाओलोका नाममा परिचित रंगशालाको नाम म्याराडोनाको सम्मानमा अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाबाट चिनिने भएको छ । नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएका म्याराडोनाको सम्मानमा इटालियन सिरी ए फुटबल क्लब नापोलीले यो निर्णय गरेको हो ।
म्याराडोनाले नापोलीलाई सन् १९८७ र १९९० मा सिरी (ए) उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । नापोलीको सिटी काउन्सिलको बैठकले स्टुडियो सान पाउलोलाई डिएगो अर्मान्डो म्याराडोना नामबाट सम्बोधन गर्न स्वीकृति दिएको छ ।
सन् १९८४ मा बार्सिलोनाबाट नापोली पुगेका म्याराडोनाले त्यहाँ ७ वर्ष बिताएका थिए । सिरी (ए) बाहेक उनले क्लबलाई सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप र इटालियन कपको उपाधि पनि दिलाएका थिए ।