काठमाडौं। सर्वोच्च अदालतले पूर्व आइजी ठाकुरप्रसाद ज्ञवालीसहित ४ जना प्रहरीलाई वारेसमार्फत् मुद्दा लड्न अनुमति दिएको छ। अदालतको अवहेलनासम्बन्धी मुद्दा खेपेका पूर्व आइजी ठाकुरप्रसाद ज्ञवालीसहित ४ जना प्रहरी अधिकृतलाई वारेसमार्फत् मुद्दा लड्न सर्वोच्चले अनुमति दिएको हो।
सवोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले उनीहरूले वारेस राख्न पाउने आदेश दिएको हो।
पूर्व आइजी ज्ञवालसहित तत्कालीन एसएसपी (हाल डिआइजी) उत्तमराज सुवेदी, डिएसपीद्वय सन्तोषसिंह राठौर र कौशलकुमार बढाथोकीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले जवाफसहित उनीहरुलाई उपस्थित हुन भनको थियो।
विप्लव नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई अदालतले छाड्न आदेश दिए लगत्तै अदालत गेटबाटै उनीहरु पक्राउ परेपछि अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले उनीहरुलाई जवाफसहित अदालतमा उपस्थित हुन भनेको थियो।
उनीहरुले भने आफूहरुको सरुवा भएको र काम विशेषले काठमाडौं उपत्यका बाहिर रहने भएकाले तारेख बुझ्न वारेस राख्न पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा गत फागुन २८ गते निवेदन दिएका थिए। सोही निवदेनको सुनुवाई गर्दै सर्वोच्चले वारेस राख्न पाउने आदेश जारी गरेको हो।