नवलपुर ।
मध्यविन्दु–१० अरुणखोलामा रहेको विन्देश्वर इन्टरप्राईजेजबाट नगद सहित ल्यापटप र कम्पुटर चोरी गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते विन्देश्वर इन्टरप्राईजेजबाट नगद नौं लाख ३२ हजार दुई सय ५७ रुपैया सहित ल्यापटप दुई थान र सामसुङ कम्पनीको मनिटर एक थान चोरी भएको थियो ।
चोरीमा संलग्न कावासोती नगरपालिका ३ का ४० वर्षीय भरत बि.क., उनको छोरा १९ सिमन सुनार र मध्यविन्दु नगरपालिका १० का २६ वर्षीय पदम सिंह सारुलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी मोहन बहादुर खाँणले बताउनुभयो । उनिहरुको साथबाट चोरी भएको नगद र जिन्सी सामान बरामद गरिएको उहाँले जानकारी दिनुभयो । उनिहरुले इन्टरप्राईजेजबाट नगद र जिन्सि गरी कुल दश लाख ६७ हजार दुई सय ५७ रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।
पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अगाडी बढाइएको डिएसपी खाँणले बताउनुभयो ।