भिम भुसाल, नवलपुर ।
पूर्वी नवलपरासी (नवलपुर)मा यहि आर्थिक वर्ष भित्र स्वास्थ्य विमा शुरुवात हुने भएको छ । ६५ जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य विमा आर्थिक वर्ष २०७७\७८ भित्र नवलपुरमा शुरुवात हुने गण्डकी प्रदेश विमा वोर्ड संयोजक जिवलाल खरेलले बताउनुभयो ।
देवचुली नगरपालिकामा सञ्चालन गरिएको स्थानिय सरोकारवालाहरुको लागि स्वास्थ्य विमा सम्बन्धी एक दिने अभिमुखिकण कार्यक्रममा संयोजक खरेलले यो आर्थिक वर्ष भित्र गण्डकी प्रदेशको नवलपुर, मनाङ र मुस्ताङ जिल्लामा स्वास्थ्य विमा शुरुवात गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य विमा गरि ५ जना सम्मको परिवारले ३५ सय रुपैँया बुझाएर १ लाख रुपैँया बरावरको स्वास्थ्य सेवा लिन सकिने छ । त्यस्तै ५ जना भन्दा धेरै परिवार सदश्य भएको खण्डमा प्रतिब्यक्ति ७ सय रुपैँया थप गरि २० हजार रुपैया बरावरको स्वास्थ्य सेवा थप हुने र प्रत्यक बर्ष नविकरण गरि विमा गर्न सकिने संयोजक खरेलले बताउनुभयो ।
७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, रातो कार्ड भएका अपाङ्ग, एच आई भि, कुष्ठरोग तथा क्षयरोगको विरामीहरुको निशुल्क स्वास्थ्य विमा हुने समेत गण्डकी प्रदेश विमा वोर्डले जनाएको छ ।