शारदा झेडी मगर, नवलपुर ।
जिल्ला प्रशासन कार्यलय नवलपरासी बर्दघाट सुस्ता पूर्व सेवाग्राहीको भिड ह्वात्तै बढेको छ । राष्ट्रिय परिचय पत्रका लागि नागरिकता अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालय नवलपुरमा नागरिकता लिन आउने सेवाग्राहीहरुको भिड लागेको हो ।
सेवाग्राहीको भिड बढेसँगै कर्मचारी अभाव र अनलाइन प्रणालीमा समस्या आउँदा सेवाग्राहीले सास्ती झेल्नु परेको हो ।
गैडाकोट नगरपालिका वार्ड नं १६ अमरापुुरीका सेवाग्राही यम बहादुर सोमै मगरले आफ्नो बुवाको नागरिकता सच्याउन कार्यलयमा धाएको ५ दिन हुँदासम्म काम सम्पन्न हुन नसकेको गुनासो गरे । उनले पाँच दिन वितिसक्दा पनि आफ्नो काम पुरा हुन नसकेको दुखेसो पोखे । त्यसैगरी गैडाकोटकै प्रबिन खत्रीले पनि आफ्नो बैनीको नागरिकता बनाउन आएको तर भिडभाडका कारण लामो समयसम्म कुर्नु परेकोे बताए ।
गैडाकोटकै अर्का सेवाग्राही अर्जुनप्रसाद तिमिल्सिनाले पनि नागरिकताका लागि कार्यालय आउदा निक्कै सास्ती भोग्नुपरेकोे अनुभव सुनाए । भिडभाडलाई व्यवस्थित बनाउन नसक्दा आफूहरु पीडित हुनु परेको उनको भनाई थियो । उनले बिशेष गरी चिनजान, नातागोता र पहुंच हुने सेवाग्राहीले सेटिङ्गका आधारमा पछि आएर पनि पालो भन्दा अघि नै काम सम्पन्न गरेको र कतिपयले लामो समयसम्म कुर्दा पनि काम लिन नसकेको बताए ।
नाम नवताउने सर्तमा एक जना सेवाग्राहीले प्रशासन फाँट अन्तर्गत बिशेष गरी ६ नम्बर कोठामा कार्यरत कर्मचारीको दक्षता माथि नै आशंका ब्यक्त गरे । सेवाग्राहीले आफ्ना कुरा राख्दा कर्मचारीहरुले उल्टै झर्किने फर्किने गरेकोले सेवाप्रबाहप्रति असन्तुष्टी समेत ब्यक्त गरे । कोभिड १९ को महामारी कायमै रहेकोले भिडभाडलाई व्यवस्थित गर्नु पर्ने सेवाग्राहीहरुको जोड रहेको थियो ।
देवचुली र गैडाकोट नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरणको काम शुरु भएकोले त्यसका लागि नागरिकता अनिवार्य भएपछि एक्कासी भिड बढेको र केही कर्मचारी समेत यही बेला तालिम र परीक्षामा गएका कारण समस्या आएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी आनन्द शर्मा भुसालले बताए ।
सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत आनन्द शर्मा भुषालले भने – अहिले गैडाकोट नगरपालिकादेखि देवचुली नगरपालिका हुँदै स्थानीय पालिकाहरुमा राष्ट्रिय परिचय पत्र बनाउने टोली खटिएको र राष्ट्रिय परिचयपत्रका लागि नागरिकता अनिवार्य हुने भएकाले सकल नागरिकता लिने, प्रतिलिपी लिने, नागरिकता सच्चाउने र यही समयमा कक्षा १२ पास गरेका बिद्यार्थीहरुले पनि नागरिकता लिने गर्दा भिडभाड बढेको हो ।