भिम भुसाल, देवचुली ।
सरकारले भूमिहीन सुकुम्बासीहरुका लागि लालपुर्जा वितरण गर्ने निर्णय गरेपछी देशका अधिकांश स्थानमा हुकुम्बासीहरु चलमलाएका छन् । सार्वजनिक तथा ऐलेनी जग्गामा बसोवास गर्नेहरु उत्खनन् तथा जग्गा कब्जामा चलमलाएका हुन् ।
देवचुली नगरपालिकाको अधिकांश ऐलेनी जग्गामा उत्खनन् चलिरहदा यता देवचुली नगरपालिका भने मौन रहेको छ । यतिवेला वडा कार्यालय देखि नगरपालिका सम्म ऐलेनी, सुकुम्बासी तथा अब्यवस्थित वसोवासको र्फम भर्न भिडभाड छ । तर र्फममा उल्लेख गरिएको जग्गा सम्बन्धीत जग्गा धनीले उपभोग गर्दै आएको हो कि होईन कत्ति जग्गा उपभोग गरेको हो भन्ने विषयमा भने नगरपालिका नै अनविज्ञ छ । न त हाल सम्म सार्वजनिक तथा ऐलेनी जग्गाको अनुगमन नै भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको करिव ८ विगाहा ऐलेनी जग्गा मध्ये ५ विगाहामा डोजर चलाएर उत्खनन् भै–सकेको छ । तर वडा कार्यालयसँग भने कति ऐलेनी र कति नम्बरी जग्गा हो भन्ने नै तथ्याङक छैन । नापि आएर नापिसकेपछी मात्रै कति जग्गा ऐलेनी हो भनेर भन्न सकिने वडा अध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो ।
ऐलेनी जग्गामा न त डोजर चलाउनै पाईन्छ न त उत्खनन् गर्न नै । ऐलेनी जग्गासँगै रहेको नम्बरी जग्गामा पनि एक सय मिटर सम्म उत्खनन् गर्न नपाईने देवचुली नगरपालिकाले जनाएको छ । तर खोलाको छेउछाउमा रहेका ऐलेनी जग्गामा अतिक्रमण गरि उत्खनन् गर्दा सम्म नगरपालिकाले अनुगमन गर्न सकेको छैन ।
भूमि सम्बन्धी ऐन, २०२१ को आठौ संशोधन जारी भएको मिति २०७६ माघ २८ गते भन्दा १० वर्ष अघिबाट निज बसोबास गरी आएको जग्गा भोग गर्दै आएकोले मात्रै ऐलेनी जग्गाको फर्म भर्न पाउने उल्लेख गरिएको छ । तर सरकारले भुमिहिन सुकुम्बासीलाई लालपूर्जा दिने निर्णय गरेसँगै पछिल्लो समय जग्गा अतिक्रमण गर्ने र ऐलेनी जग्गाको फर्म भर्नेहरुको भिडभाड रहेको छ ।
देवचुली नगरपालिका वडा नम्बर १२ मा पनि करिव ४० विगाहा ऐलेनी जग्गा रहेको छ । त्यसमध्ये १० विगाहा जमिन अतिक्रमणको चपेटामा परेको वडाअध्यक्ष दिनानाथ भुसालले बताउनुभयो । बौलाहा खोला पारि वडा नम्बर ५ क्षेत्रमा ऐलेनी जग्गा उत्खनन् गरि ढुङगा माटो स्थानियले ब्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्दा देवचुली १२ का स्थानियले समेत आफ्नो ऐलेनी जग्गामा उत्खनन् गर्न पाउनुपर्ने माग गरेका छन् ।
नम्बरी जग्गामा एक मिटर सम्म मात्रै सम्याउन पनि अनुमति लिनुपर्ने देवचुली नगरपालिकाका ईन्जिनियर टिकाराम बस्यालले बताउनुभयो । उत्खनन् गरेको पाईएमा कानुन अनुशारको कारवाही गरिने समेत ईन्जिनियर बस्यालको दाबी छ । तर अनुगमन प्रभावकारी हुन नसकेको प्रति नगरपालिकाले समेत स्विकार गरेको छ ।
अनुगमन नै नगर्दा सम्म ऐलेनी तथा सार्वजनिक जग्गा उत्खनन् गरेको कहिले देखिएला ? सम्बन्धित वडा तथा नगरपालिका नै मौन बसिदिदा बास्तविक सुकुम्बासी भन्दा आफ्नो प्रभुत्व जमाउन खोज्ने र ठूला-ठूला होटल तथा ब्यवसाय ऐलेनी जग्गामा खोलेर लालपुर्जा बनाउन खोज्ने हुकुमबासीहरुले आफ्नो नाममा लालपुर्जा बनाउने त होईन् भन्ने आशंका उब्जिएको छ ।