नवलपुर
एलोपेथिक उपचारले प्राकृतिक उपचार पद्धतिलाई केहि ओझेलमा पारेपनि विश्वास भने अझै कायम नै छ । उपचार गर्दै गर्दा हैरान भएका र जिवनप्रति निरास भएकाहरुलाई आशाको केन्द्र बनेको छ पूर्वी नवलपरासीमा रहेको प्राकृतिक चिकित्सालय । कोरोनाको संक्रमण र जोखिमको समयमा अस्थायि कोभिड अस्पताल संचालन गरेको चिकित्सालय अब भने पुरानै लयमा फर्किने तयारी थालेको छ ।
देवचुली नगरपालिका १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले अस्थायी कोभिड अस्पताल संचालन गरेको करिब ९ महिनापछि आफ्नो सेवा सुरु गर्न लागेको छ । नियमित चेकजाच र उपचारमा रहेका विरामीहरुलाई मध्यनजर गर्दै फागुन १ गतेदेखि प्राकृति उपचार पद्धती अनुसरको सेवा संचालन गर्न लागेको अस्पतालले जनाएको छ । पूर्वको हिलेदेखि पश्चिमको बझाङ सम्मका करिब ८० जना उपचाररत विरामीहरुलाई कोरोनाको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै लकडाउन अगावै घर पठाईएको थियो । लकडाउन पछि ४ सय ५० शैयाको क्वारेन्टाइन बाट शुरुवातमा सेवा शुरु गरिएको यहा कोरोनाको संक्रमण दर बढ्दैगएपछि जेठ महिनाबाट अस्थायी कोभिड अस्पताल संचालन गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो ।
१० वर्षदेखि प्राकृति उपचार पद्धतीमार्फत उपचार गर्दै आएको यस अस्पतालमा देशका विभिन्न ठाउबाट विरामीहरु उपचारका लागि आउने गर्दछन । लामो समय देखि फ्लोअपका लागि आउन नपाएका विरामीहरु भने कहिले अस्पतालले सेवा शुरु गर्ला भनेर पर्खिएका छन ।
यहा औषधी,शल्यक्रिया विना नै पृथ्वी,जल,अग्नी,वायुको प्रयोग गरी उपचार गरिन्छ । करिब १० विगाह क्षेत्रफलमा रहेको यस चिकित्सालयमा विरामीको लागि आवश्यक खाना त्यहि उत्पादन गर्ने गरिन्छ । जमरा, अर्गानिक खेती संगै गाई समेत पालन गरिएको छ । यहा आवस सहित विरामीहरुलाई जिवनशैली सिकाउदै रोग अनुसारको प्राकृतिक रुपमा नै उपचार गर्ने गरिन्छ ।
यस चिकित्सालयमा २ सय ५० जना विरामीको उपचार गर्ने क्षमता छ तर उपचार गराउने युनिट कम हुदा १ सय जनाले उपचार पाउदै आएका छन । अगामि दिनमा उपचार युनिट संगै योग र प्राकृतिक सम्बन्धी मेडिकल कलेज नै संचालन गर्ने योजनामा अस्पताल अगाडि बढेको जनाएको छ ।