नवलपुर ।
प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचन भएको ३ वर्ष कटिसकेको छ । तर, पूर्वी नवलपरासीमा कतिपय जनप्रतिनिधिहरुले निर्वाचनमा गरेको खर्च विवरण अझै बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेमा ठूला दलभन्दा साना दल र स्वतन्त्र उमेदवारहरु बढी रहेका छन् ।
खर्च विवरण नबुझाउनेहरुमा पार्टीभित्र आर्थिक पारदर्शिता हुनुपर्ने कुरा उठाउने तत्कालीन नयाँ शक्ति पार्टी, विवेकशील साझा पार्टी, संसदीय व्यवस्था नै बेठीक र खर्चिलो संसदीय निर्वाचन प्रणाली भन्दै विरोध गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चालगायतका पार्टी रहेका छन् ।
प्रतिनिधिसभाको २ वटा निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा प्रतिनिधिसभातर्फ २० जनाको उमेदवारी परेकोमा ८ जनाले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् भने प्रदेशसभाका ४ वटा निर्वाचन क्षेत्रमा गरी ४२ जनाको उमेदवारी परेकोमा १६ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका जिल्ला निर्वाचन अधिकारी ओमनाथ शर्मा ढुङ्गानाले बताए ।