विकास अधिकारी, परासी ।
पश्चिम नवलपरासीसहित नेपालका सिमावर्ती जिल्लाबाट भारत तर्फ ईन्धन तस्करी भईरहेको छ । नेपालबाट भारत जाने सवारी साधन र ड्रममा राखेर भारत तर्फ ईन्धन तस्करी भईरहेको हो । जसका कारण नेपालमा ईन्धन खपत पनि बढेको नेपाल आयल निगमले जनाएको छ ।
अहिले सीमावर्ती क्षेत्रमा भारतको भन्दा नेपाली पम्पले पेट्रोल ३५.२९ रुपैयाँ र डिजेल ४१.४३ रुपैयाँ सस्तोमा बिक्री गरिरहेका छन् । जसका सिमा नजिक बस्ने भारतीयहरु नेपालबाट ईन्धन लाने गरेका छन् । डिजल पेट्रोल लगाएतका ईन्धनको माग बढेपछि नेपाल आयल निगमले भारततर्फ हुने इन्धन नियन्त्रण गर्न सीमा क्षेत्रका पम्पमा कडाइ सुरु गरेको जनाएको छ ।
निगम केन्द्रीय कार्यालयले तराईमा रहेका आफ्ना कार्यालयलाई परिपत्र जारी गर्दै सीमावर्ती क्षेत्रका पम्पको नियमित अनुगमन गर्नुपर्ने, ड्रममा हालेर भारतीय सवारीसाधनलाई इन्धन बिक्री गर्न नपाउने, एउटा सवारीसाधनमा बढीमा १ सय लिटर मात्रै तेल हाल्न दिनुपर्नेलगायतका सर्त कडाइका साथ कार्यान्वयन गर्न निगमले निर्देशन दिएको हो ।
आयल निगमले अनुसार स्थानीय प्रहरी, प्रशासनसँग समन्वय गरी तराईका कार्यालयहरूलाई दैनिक कम्तीमा ५ वटा पम्पको अनुगमन गर्न निर्देशन दिएको छ । हुलाकी राजमार्गबाट कम्तीमा ५ किलोमिटर उत्तरसम्मका पम्पले बिक्री गर्ने तेलको परिमाणबारे नियमन गर्न परिपत्र गरेको छ ।
नेपालतर्फ इन्धन सस्तो भएपछि भारतीय सवारीसाधनले ड्रममा समेत तेल हालेर लैजान थालेपछि कडाइ गर्नुपरेको निगमले जनाएको छ । सीमा क्षेत्रका पम्पले पछिल्लो समय इन्धनको माग बढाउन थालेपछि मासिक बिक्री परिमाण महिनाको सुरुमै पेस गर्नुपर्ने सर्त राखिएको छ । आगामी दिनमा मूल्यअन्तर झन् बढ्ने र पम्पले बढी तेलको माग गर्न सक्नेतर्फ सजग हुँदै निगमले यस्तो व्यवस्था गरेको हो ।
निगम कर्मचारीहरूका अनुसार मूल्यअन्तर बढ्दै गर्दा सीमावर्ती क्षेत्रका पम्पले पछिल्लो २–३ महिनादेखि साबिकको तुलनामा २०–२५ प्रतिशतसम्म इन्धनको माग बढाउन थालेका छन । तर पम्प व्यवसायीहरुले भने निगमको कडाई गर्ने नियमले समस्याको समाधन नगर्ने बताएका छन् ।
पश्चिम नवलपरासीसहित यस आसपासका जिल्ला हेर्ने पश्चिमाञ्चल पेट्रोलियम डिर्लस एसोसियनका अध्यक्ष पेउनारायण न्यौपानेले कडाई गर्ने भनेर निगमले ल्याएको नियम विधिसंवत नभएको रेडियो परासीलाई बताउनुभयो । ‘‘सरकारले मुल्य समायोजन गर्नुपर्छ, तेल नदिनु भनेर हुदैन् यो त व्यवसायी बिना कारण फस्ने मात्र हुन्छ,’’ उहाँले भन्नुभयो ।