खगेन्द्र पराजुली, नवलपुर।
एचआईभी संक्रमित र प्रभावितहरुका सवालमा राज्यको ध्यान नपुगेको सरोकारवालाको गुनासो रहेको छ । स्थानीय पालिकाहरुको ध्यान र चासो दुबै नपुगेको नवलपुरमा आयोजित एक अन्तरक्रियाका सहभागीले बताएका छन् । नवलपरासीमा एचआईभी संक्रमित र प्रभावितहरुको क्षेत्रमा काम गर्दै आएको लुम्विनी प्लस नेपालले आयोजना गरेको १ दिने अन्तरक्रियामा उपस्थित सरोकारवालाले अत्यन्त जोखिम संक्रमितका लागि स्थानीय तहले योजना बनाउन अपरिहार्य रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका समन्वय समितिका प्रमुख चेसराम आलेले अझै पनि समाजमा एचआईभी संक्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकै कारण संक्रमितहरु सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौती रहेको हुनसक्ने प्रतिक्रिया दिए ।
समन्वय प्रमुख आलेले स्वास्थ्य कार्यालय मार्फत पालिकाहरुले पनि नीतिगत योजना बनाएर एचआईभी संक्रमितको स्वास्थ्य उपचारदेखि जिविकोपार्जन लगायतका सन्दर्भमा चासो पुर्याउनुपर्ने कर्तब्य भएको बताए । उनले भने– “लुकेर बसेका कैयौ रोगी छन्, कैयौ संक्रमित छन् त्यस्तालाई हेला गर्नुहुदैन भन्ने सचेतना जगाउनेदेखि उनीहरुको जिविकोपार्जनका बिषयमा स्थानीय तहदेखि नै योजना बनाउन म अनुरोध गर्दछु ।” यसो भएमा संक्रमितहरु पनि आफुहरु अवहेलनामा नपरेको, राज्यबाट खोजी र संरक्षित भएको महशुस गर्दै उनीहरुमा हिम्मत र साहस बढ्ने आलेको तर्क थियो ।
अन्तरक्रियामा शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाट, बालबालिका एवं किशोरीका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले सुझाव सहितका जिज्ञासा राखेका थिए ।
सरोकारवाला र पत्रकार समेतको उपस्थितिमा भएको अन्तरक्रियामा कार्यक्रम अधिकृत लक्ष्मण अधिकारीले नवलपुर र परासी दुबै क्षेत्रको कार्यपत्र प्रस्तुत गरेका थिए ।
सार्वजनिक गरिएको बिवरण अनुसार नवलपुरमा मात्रै अहिले ३ सय १ जना एचआईभी संक्रमित रहेका छन् । तीमध्ये ७२ जनाले एआरटी औषधि सेवन गर्ने गरेकामा ६१ जनाले जिल्लामै नियमित, ३ जनाले भरतपुरबाट, ४ जनाले बिचैमा छाडेका र ४ जनाको भने मृत्यु भईसकेको जानकारी दिईयो ।
नवलपुरको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका एआरटी काउन्सिलर नविन अधिकारीका अनुसार औषधी सेवन गर्ने नगर्ने भन्नेमा संक्रमितकै स्वेच्छिकता रहेकाले पनि संख्या कम रहेको हो ।
एआरटी काउन्सिलर अधिकारीले सामान्य परिक्षणका रुपमा गर्नुपर्ने जाँचहरु कलेजो, मृगौला, रगत, पिसाव लगायतका चेकजाँच जिल्लामै हुने गरेपनि एचआईभी भाईरसको मात्रा मापन गर्ने भाईरललोड मेसिनका अभावमा काठमाण्डौ पठाएर परिक्षण गर्नुपरेको छ । भाईरललोड उपकरण गण्डकी प्रदेशमा पोखरामा मात्र भएकोले पायक पर्ने हिसावले काठमाण्डौ पठाउने गरेको जनाईएको छ ।